काठमाडाैं । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएकाे छ ।
आन्दोलन सुरु भएको १२औं दिनमा मन्त्रालयले विद्यालय कर्मचारी परिषद्को नाममा पत्र लेख्दै वार्तामा बोलाएको हो ।
कर्मचारीले उठाएका मागहरूका विषयमा वार्ता र छलफल गरिने भन्दै शिक्षा मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई पत्र पठाएकाे छ ।
मन्त्रालयका उपसचिव विदुरराज गिरीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘परिषद्ले मिति २०७९/४/२३ मा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेस गरेको ज्ञापन पत्र र सेवासुविधासम्बन्धी मागहरू राखेर विगत केहीदिन विद्यालय कर्मचारीहरू आन्दोलनरत रहेकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । विद्यालय कर्मचारीको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्नको लागि विगतमा नेपाल शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित कार्यसूचीमा समावेश गरिएको सन्दर्भमा सो विषयमा मन्त्रालयबाट अन्य निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने प्रयास जारी रहेको सबैलाई विदितै छ । यसै क्रममा ज्ञापन पत्रमा उठाएका मागहरूको विषयमा नेपाल शिक्षक महासंघ मार्फत् छलफल तथा वार्तामा सहभागी हुन तथा हाल घोषणा गरिएको विद्यालय बन्दका कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठनपाठन सहज हुने वातावरण सिर्जना गर्न समेत मन्त्रालय अनुरोध गर्दछ ।’
शुक्रबार शिक्षा मन्त्रालयमा आन्दोलनरत विद्यालय कर्मचारी परिषद्, नेपाल शिक्षक महासंघलगायत र शिक्षा मन्त्रालयका अधिकारीहरूबीच सामान्य छलफल भएको थियो ।
छलफलपछि परिषद्का अध्यक्ष गंगाराम तिवारीले मन्त्रालयले औपचारिक रूपमा पत्र काटेर वार्तामा बोलाउनु पर्ने बताएका थिए ।