रौतहट १६ भदौ । मधेस प्रदेशका आठै ओटा जिल्लाको सिमाना खुला रुपमा भारतसँग जोडिएको छ । खुला सिमानाको दुरुपयोग गर्दै यहाँ भन्सार छली, अनधिकृत आवागमन, मानव बेचबिखन, अवैध मुद्रा ओसारपोसारलगायतका अपराध पनि बढी हुने गरेका छन् ।
यस्ता अनधिकृत गतिबिधि नियन्त्रणमा मधेसमा खटिएको सशस्त्र प्रहरी सक्रिय देखिएको छ । सशस्त्र प्रहरीले मधेश प्रदेशका ८ जिल्लाबाट बितेको एक वर्षमा ७० करोड रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रण लिएर कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरीले प्रदेशका विभिन्न स्थानबाट गत २०७८ भदौदेखि यसपालि भदौ १० गतेसम्म अवैध रूपमा भित्रिएका ७० करोड ५७ लाख रुपैयाँबराबरको सामान नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेशका ८ जिल्लाका सीमावर्ती क्षेत्रबाट ती मालसामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।
भन्सार छलेर भित्रिएका र प्रतिबन्धित वस्तु नियन्त्रणकै लागि खटिएका सशस्त्र प्रहरीले समातेको सामान कारबाहीका लागि भन्सार कार्यालयहरूमा बुझाएको डीआईजी मगरले बताए ।
सुरक्षा र अनधिकृत व्यापारको संवेदनशीलतालाई ध्यानमा राखेर सीमामा उच्च सतर्कता अपनाउँदै आएको सशस्त्र प्रहरीले बताएको छ ।
चौपायाको अवैध ओसारपसार र लागू औषध नियन्त्रणलाई पनि सशस्त्र प्रहरीले अघि बढाएको छ । त्यस्तै विदेशी मुद्राको अनधिकृत ओसारपसार, मानव बेचबिखनलगायतका अपराध नियन्त्रणका काम भएको सशस्त्र प्रहरी बलले बताएको छ ।
सशस्त्रले बितेको एक वर्षमा डेढ करोड रुपैयाँभन्दा बढीको चौपाया नियन्त्रणमा लिएको छ । अवैध रुपमा भित्र्याइएका १ करोड ५८ लाख रुपैयाँ अनुमानित मूल्यका चौपायासमेत भन्सारमा पठाएको सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी निरीक्षक सञ्जय रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार सशस्त्रले एक वर्षमा स्रोत नखुलेको २२ लाख ६० हजार भारतीय रुपयाँ र ३ करोड ७ लाख नेपाली रुपैयाँ पनि बरामद गरको छ । सशस्त्र प्रहरीले १९ लाख ४१ हजार नक्क्ली नेपाली मुद्रा र ९८ हजार ५६० यस्तो भारतीय मुद्रा पनि बरामद गरेको कारवाहीका लागि सरोकारका निकायमा पठाएको छ ।