बिमलेश कुमार झा
२१ भदौ,रौतहट।
रौतहटको देवाही गोनाही नगरपालिकामा पछिल्लो तीन महिना भित्र चोरीको प्रकाष्टा नाघेको छ। सामुदायिक विद्यालय प्रति विद्यार्थीलाई आकर्षण बढाउन लागु गरिएको दिवा खाजा सामग्री र पढ्ने कम्प्युटर समेत चोरी भएको छ। रौतहटको देवाही गोनाही नगरपालिकामा आजकाल अनौठो घटनाहरु सार्वजनिक भइरहेको छ। गत ३ महिना भित्र चारवटा अनौठो घटनाहरु सार्वजनिक भएको छ।
विद्यार्थीहरुले खाने दिवाखाजा खुवाउने सामग्री चोरी
गत असार महिनामा नगरपालिकाको श्री मावि प्रेमपुरमा विद्यार्थीहरुले खाने दिवा खाजाका सामग्रीहरु चोरी भएको थियो। खाजा सामग्री चाना,चिउरा,आलु र ग्यास सिलिन्डर समेत चोरी भएको थियो।
३५ थान कम्प्युटर चोरी
गत असार २४ गते बिहीबारको मध्य रातमा सोही विद्यालयबाट ३५ थान भन्दा बढी कम्प्युटर भएको थियो । चोरी भएको कम्प्युटर तत्कालीन वडा अध्यक्ष जगरनाथ यादवको भकारीमा पाइएको थियो। जबकि सो मुद्दा अहिलेसम्म विचाराधीन छन्।
सब-इन्जिनियरको कार्यकक्षबाटै ल्यापटप चोरी
त्यस्तै नगरपालिकामा कार्यरत सब इन्जिनियर ललन साहको कार्यकक्षबाटै हिजो सोमबार दिउँसो ल्यापटप चोरी भएको तथ्य सार्वजनिक भएको छ। ल्यापटप चोरी गर्ने श्रवण कुमारलाई विशेष छानबिनका लागि ईलाका प्रहरी कार्यालय गरुडामा बुझाइएको नगरपालिकाले जनाएको छ।
९ महिना देखि म्याद नाघेको औषधि नगरपालिकाको स्टोरमा
आजको परिवेशमा पनि नेपाली जनताहरु सिटामोलका कारण छट्पटी रहेको छ। तर रौतहटको देवाही गोनाही नगरपालिकाको स्टोरमा एजिथ्रो माइसिन, सलाइन, मेट्रोन डिएफ लगायत अन्य विभिन्न प्रकारका दर्जनौ कार्टुन भरिएका औषधिहरु म्याद नाघेको पाइएको छ। गत कार्तिक महिनादेखि म्याद नाघेको औषधिबारे सम्बन्धित व्यक्तिहरु अनभिज्ञ छन्। मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने निकाय हो स्वास्थ्य संस्था जहाँ सबै मानिसहरु ढुक्क संग जान्छन । चाहे त्यो निजी होस् या सामुदायिक । यसलाई निकै संवेदनशील निकायको रुपमा मानिन्छ । त्यहाँ एउटा सानो गल्तीले ठुलो क्षति हुन सक्ने सम्भावना हुन्छ । एउटा भनाई छ स्वास्थ्य नै धन हो । तर जति जनसंक्ति भएता पनि गलती झनझन घटनुको साटो बढदो क्रम जारीनै रहेको छ । यस्तै एउटा घटना रौतहटको देवाही गोनाही नगरपालिकामा दोहरीएको छ ।
स्वास्थ्य उपचारमा औषधि अमृत हो । म्याद रहेसम्म औषधि जति अमृत हो म्याद सकिएपछि त्यो औषधि त्यति नै विष हुने कुरा सबैलाई थाहनै होला । म्याद नाघेको औषधि बेचे कैदसम्मको व्यवस्था छ । औषधि ऐनमा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गरे, म्याद नाघेको औषधि बिक्रीवितरण गरे, औषधिमा मिसावट गरे र मिसावट भएको औषधि बिक्री गरे, कुनै अरू थोकलाई औषधि भनी बिक्री गरे, लागू र विषालु औषधि सुरक्षित राख्नुपर्नेमा बर्खिलाफ हुने गरी कुनै कामकारबाही गरेसमेत कडा दण्डजरिवाना हुने व्यवस्था छ । तर जुनसुकै निकायमा नियमन तथा अनुगमन नभए ऐन र कानुनमा जस्तोसुकै कारवाहीको व्यवस्था गरिएपनि त्यसको कुनै अर्थ रहदैन । यसैक्रममा रौतहटको देवाही गोनाही नगरपालिका स्वास्थ्य शाखाको चरम लापरवाही देखिएको छ ।
नगरपालिकाकाको स्टोर रुममा म्याद नाघेको औषधीहरु ठूलो परिमाणमा फेला परेको छ । व्यापक जनगुनासो पश्चात मंगलबार स्थलगत रिपोटिङ्गका लागि देवाही गोनाही नगरपालिका पुगेका संचारकर्मीको टोलीले म्याद नाघेको औषधीहरु फेला पारेका हुन् । स्वास्थ्य शाखाका संयोजक नागेन्द्र पटेल र सह-संयोजक नागेन्द्र यादवले स्टोरमा म्याद सकिएको औषधि रहेको विषयमा भने अनभिज्ञ छन् । गएको कार्तिक महिनामै म्याद सकिएको औषधिहरुको बारेमा समेत संबंधित निकाय अनभिज्ञ रहेका छन्। संयोजक पटेल अनुसार यो औषधिको खरिद र वितरण कार्य स्वास्थ्य शाखा मार्फत नभइ जिनसी शाखाले आफ्नो मनपरि ढंगले वितरण गर्दैआएको तथ्य सार्वजनिक गरेका छन।। यस् बारे जिनसी प्रमुख प्रभु यादवसँग बुझदा गत चैतमा औषधि खरिद गरेको र स्वास्थ चौकीहरुबाट माग फारम नआउँदा सो औषधिहरुको म्याद नाघेको बताएका छन्। जबकि औषधिहरुको म्याद गत कार्तिक मै नाघेको देखिन्छ। ५–६ महिनामै औषधिको म्याद कसरी सकिन्छ भन्दै प्रश्न गर्दा आफ्नो लापरबाही रहेको जिन्सी प्रमुख यादवले स्विकार गरे। कार्तिकमै म्याद सकिएको औषधि चैतमा कसरी आइपुग्यो भन्ने पत्रकारको जिज्ञासामा जिन्सी प्रमुख जिल्ल परे ।
सो विषय बारे नगर प्रमुख प्रेमलाल साहले आफ्नो तीन महिना कार्यकाल नबित्दै प्रतिपक्षी दलले विभिन्न बहानामा बदाम गर्न खोजेको आरोप लगाएका छन्। नगरप्रमुख साहले पदभार ग्रहण गरेको दिनदेखि नै स्वास्थ्य चौकीहरुमा औषधि वितरण गर्न सम्बन्धित व्यक्तिलाई ताकेता गरे पनि उनीहरू अटेरी गरेको आरोप लगाएका हुन्। मेयर साहले स्वास्थ चौकीहरुमा औषधि अभाव बारे स्थानीयहरुको गुणासो बढे पछि आज मंगलबार स्टोर रुमलाई निरीक्षण गर्न जादा गत कार्तिक महिनामा म्याद नाघेको औषधिहरु थन्क्याएर राखेको कुरा बाहिर आएको बताए ।
यस विषयबारे अनुसन्धान गरि स्वास्थ्यसँग खेलवाड गर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्ने नगर प्रमुख साहले प्रतिबद्धता गरे। स्थानीयहरुले यहीँ विषयलाई लिई भोलि बुधबार नगरपालिका घेराउ गरि आन्दोलन समेत गर्ने एक स्रोतले जनाएको छ।