भाद्र २१ गते, रौतहट ।
मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको दोहोरो सिफारिस भएको छ। सभापति यादवको सिफारिस प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नम्बर १ र प्रदेश सभा सदस्यको लागि रौतहट क्षेत्र नम्बर १ (ख) बाट भएको हो।
नेपाली काँग्रेसको प्रदेश सभापतिको हैसियतले मधेस प्रदेशका मुख्यमन्त्रीको आकांक्षी रहेका सभापति यादव संविधान सभा सदस्य रहिसकेका छन्। रौतहट क्षेत्र नम्बर ४ बाट संविधान सभामा निर्वाचित सभापति यादवको गृह क्षेत्र अहिले रौतहट क्षेत्र नम्बर १ रहेको छ।
गठबन्धन नभएमा र पार्टीले आवश्यकता महसुस गरेमा सभापति यादव प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने छन् भने गठबन्धन भएमा सभापति यादव प्रदेश सभाको लागि क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार हुने छन्।
प्रदेश सभाको निर्वाचनपश्चात् नेपाली काँग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठन हुने सम्भावना भएमा सभापति यादव मुख्यमन्त्रीको दाबेदार रहेका छन्। गठबन्धन भएर रौतहट क्षेत्र नम्बर १ बाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार भएमा नेपालबाट सभापति यादवलाई र सभापति यादवबाट नेपाललाई सहयोग हुने सम्भावना रहेको छ।