जतिजति चुनाव नजिकिँदैछ, विभिन्न दलबाट उम्मेदवार बन्ने आकांक्षीहरु थपिँदैछन् । राजनीतिक दलमा लामो समय आवद्ध भएकाहरु पनि उम्मेदवारी घोषणा गरिरहेका छन् भने सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेकाले पनि उम्मेदवारी घोषणा गरिरहेका छन् । यतिमात्र होइन, नयाँ अनुहार पनि प्रत्यक्ष चुनाव लड्न उत्तिकै अग्रसर देखिएका छन् । सामाजिक कार्यकर्ता, अभियन्ता, लेखकको रुपमा आफ्नो पहिचान बनाई सकेका व्यक्तिहरु पनि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । कोही स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरिरहेका छन् भने कोहीले दलगत रुपमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यो क्रम मधेस प्रदेशमा बढी देखिएको छ । लामो समय गैरसरकारी संस्थामा काम गरेर वकालत पेसामा समेत संलग्न दीपेन्द्र झा मधेस प्रदेश सरकारको प्रमुख न्यायाधिवक्ता थिए । उनी चुनाव लड्नकै लागि प्रमुख न्यायाधिवक्ताबाट राजीनामा दिएर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
उनी महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन् । उनले टिकटका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवबाट आश्वासन पाइसकेका छन् । चुनावका लागि उनी मधेस प्रदेशमा नयाँ अनुहार हुन् ।
बीबीसीका पत्रकार वृजकुमार यादव पनि यसपटक चुनाव लड्ने सोचमा छन् । उनी धनुषा–४ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा छ । पछिल्लो समय मिडिया उद्यमीको रुपमा चिनिन थालेका उनको नाम जसपाबाट सिफारिस भइसकेको छ । यद्यपि सो क्षेत्रमा जसपाले उनीसहित अन्य चार जनाको नाम सिफारिस गरेको छ ।
सामाजिक अभियन्ता सरोज राय पनि उम्मेदवार बन्ने तरखरमा छन् । उनी सर्लाही–३ (ख) बाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने तयारी गरिरहेका छन् । सुरुमा उनले जसपाबाट टिकट लिएर चुनाव लड्ने मनसाय मनाएका थिए । त्यसका लागि उनले पहल गरेको र जसपाका अध्यक्ष उपेन्द्र यादवबाट आश्वासन पनि पाएको चर्चा थियो । तर पछिल्लो समय जसपाबाट टिकट पाउने सम्भावना घटे पनि आफू उम्मेदवार बन्ने उनको भनाइ छ ।
सर्लाही–३ (ख) बाट यसअघि जसपाकै संजय यादव विजयी भएका थिए । पार्टीले यसपटक पनि उनलाई नै दोहो¥याउने भएपछि सरोजले स्वतन्त्र उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।
विदेशमा फसेकाको उद्धार गर्नेदेखि लिएर बालबालिकालाई उद्धार गर्ने, विपतमा सहयोग गर्नेजस्ता सामाजिक काममा सक्रिय सरोज पनि आसन्न निर्वाचनका लागि नयाँ अनुहार हो ।
डा.शरद यादव सप्तरी–२ (ख) बाट प्रदेशसभामा उम्मेदवार बन्ने तयारीमा जुटेका छन् । उनी पनि सम्भव भए महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्ने कसरतमा छन् । सो पार्टीबाट उनको नाम सिफारिस पनि भएको छ ।
पशु चिकित्सिक रहेका उनी धेरै पहिलादेखि सामाजिक काममा सक्रिय रहँदै आएका छन् । उनको परिवार नेपाल सद्भावना पार्टीमा आवद्ध थियो । यद्यपि उनी राजनीतिबाट अलग रहेर आफ्नो पेसाका साथै अन्य सामाजिक काममा सक्रिय थिए ।
सुरुमा उनी स्वतन्त्र रुपमा चुनाव लड्ने तयारीमा थिए । उनले सामाजिक सञ्जालबाट त्यसको घोषणा पनि गरेका थिए । पछि लोसपाबाटै टिकट लिएर चुनाव लड्ने मनस्थितिमा पुगेका उनलाई लोसपाले उम्मेदवारका रुपमा सिफारिस गरिसकेको छ ।
मधेसी राजनीतिमा लामो सयम सक्रिय रहेका श्रीमननारायण (रौतहट) पछिल्लो समय स्वतन्त्र भएर लेखन तथा सामाजिक काममा सक्रिय रहँदै आएका छन् । राजनीतिबाटै ‘फ्रस्टेड’ भइसकेका उनी यसपटक आफै उम्मेदवार बन्ने दौडमा छन् । सुरुमा स्वतन्त्र रुपमै उम्मेदवार बन्ने घोषणा गरेका उनी पछिल्लो समय हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन् । उनी नेपाल सद्भावना पार्टी नेपालका संस्थापक गजेन्द्रनारायण सिंहसँगसमेत काम गरेका भए पनि अवसरबाट भने जहिले पनि बञ्चित हुँदै आइरहेका थिए । यहाँसम्म कि उनलाई पार्टीबाट चुनाव लड्नसम्म टिकट दिइएको थिएन । उनी यसपटक रौतहट–१ (ख) बाट प्रदेशसभा सदस्यमा चुनाव लड्ने तयारीमा छन् ।
त्यस्तै डा.बबी सिंह यादव सप्तरी–१ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा छिन् । सीके राउतको साथमा स्वतन्त्र मधेस गठबन्धनमा आवद्ध भएर लामो समय काम गरेकी उनी जसपाबाट टिकट पाउने आशमा छिन् । जनमत पार्टी गठन गरेर मूलधारमा आएपछि बबीले सीके राउतको साथ छाडेकी थिइन् । स्वतन्त्र मधेस गठबन्धन छाडे पनि उनी सामाजिक काममा सक्रिय नै थिइन् ।
हाल उनका बुबा मृगेन्द्रकुमार सिंह यादव संघीय सरकारमा कृषि मन्त्री छन् । त्यही भएर उनी पनि जसपाबाटै चुनाव लड्ने मुडमा रहेको बताइन्छ । यद्यपि उनको नाम सप्तरी–४ बाट सिफारिस भएको छैन । त्यहाँबाट मृगेन्द्रकुमार सिंह यादवका भाइ अनिरुद्रसिंह यादवको नाम सिफारिस भएको छ । तै पनि बबीलाई आफूले नै टिकट पाउने आश छ । आफ्नो श्रीमान डा.रवीन्द्र यादवसँग दुबईमा हुँदा त्यहाँ वैदेशिक रोजगारमा गएर पीडित भएकाहरुलाई उद्धार गर्नुको साथै तराई मधेसमा पीडित महिला तथा बालबालिकालाई रकम संकलन गरेर सहयोग गर्ने जस्ता भूमिका निर्वाह गरेकी थिइन् ।
द्वन्द्वकालमा युएनडीपीमा समेत काम गरिसकेकी बबी बाढी पीडित पुनर्स्थापना कार्यक्रममा समेत काम गरिसकेकी छन् । उनी राजनीति गर्नकै लागि दुबई छाडेर नेपाल बस्न थालेकी हुन् । मनोविज्ञानमा पीएचडी गरेकी बबी जसपाको निर्णयको पर्खाइमा रहेको बुझिएको छ ।
सप्तरीमा इन्जिनियर सञ्जिव नारायण यादवको पनि चर्चा छ । मधेसी इन्जिनियर एशोसिएशनका अध्यक्षसमेत रहिसकेका सञ्जिव जसपाबाट सप्तरी–३ (क) बाट प्रदेशसभा सदस्यमा चुनाव लड्ने तयारीमा जुटेका छन् । जिल्लाबाट उनको नाम पनि सिफारिस भएको छ ।
उनी पहिलादेखि जसपा निकट इन्जिनियर एशोसिएशनमा आवद्ध थिए । तर पार्टी गतिविधिभन्दा पनि सामाजिक कार्यमा उनी सक्रिय थिए । सप्तरीमा इन्जिनिरिङलगायतका कामका लागि उनले एउटा परामर्श केन्द्र पनि खोलेका छन् ।
सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल समाजवादी पार्टीका तर्फबाट चुनाव लड्ने तयारीमा रहेका दीपक महतो पनि नयाँ अनुहार हो । उनी डा.बाबुराम भटट्राईको साथमा लामो समय काम गरेका भए पनि चुनावी प्रतिस्पर्धामा पहिलो पटक उत्रिने तरखरमा छन् ।
त्यस्तै, बारा जिल्लामा सामाजिक कार्यमा लामो समयदेखि सक्रिय संजय यादव यसपटक लोसपाबाट बारा–१ (ख) बाट प्रदेशसभा सदस्यमा चुनाव लड्ने तयारीमा छन् । क्षेत्रबाट उनको नाम पनि सिफारिस भएको छ ।
पर्सामा सामाजिक अभियन्ताको रुपमा परिचित ओमप्रकाश सर्राफ पनि लोसपाबाट पर्सा–१ (ख) बाट प्रदेशसभामा चुनाव लड्ने तयारीमा छन् । पार्टीले उनको नाम पनि सिफारिस गरेको छ । सो क्षेत्रबाट मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै, एमालेबाट नयाँ अनुहारमा सर्लाही–१ (क) बाट प्रदेशसभा सदस्यमा चन्द्रभुषण साहको नाम चर्चामा छ ।