२५ गते । रौतहट
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ । सर्लाहीको मलंगवाबाट काठमार्डौ जाँदै गरेको ना ६ ख १२३३ नम्बरको सम्पूर्ण डिलक्स बसको डिकीमा करिब २० वटा साना–ठूला बोरामा प्याक गरेर राखिएको अवस्थामा प्रहरीले चन्द्रनिगाहपुर मेनचोकबाट वरामद गरेको हो ।
बेलुकी साढे ९ बजेतिर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर टोलीले चेकजाँजको क्रममा काठमाडौंतर्फ लैजान लागेको बोरामा प्याक गरेको बिल नभएको कपडाहरु वरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अरविन्द कुमार साहले बताए ।
बरामद गरिएको कपडाहरु कति थान, कुन–कुन खाले छन् भन्ने बारेमा बोरा खोलेर हेरेपछि मात्र थाहा हुने र त्यसको तयारीमा प्रहरी लागेको उनले बताए ।
बरामद गरिएको कपडाहरु बोरा सहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ । बरामद गरिएको कपडाको मूल्य लाखौं हुनसक्ने प्रहरीको अनुमान छ ।
कपडा कसको हो र कहाँबाट रौतहटसम्म आइपुग्यो भन्ने बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सर्लाहीको सदरमुकाम मलगंवाबाट रौतहटको चन्द्रनिगाहपुरमा आइपुग्दा धेरै स्थानमा प्रहरीको चेकपोष्ट पर्ने भएभनि कसरी उम्केर रौतहटसम्म आइपुग्यो भन्ने स्थानीयको चासोको विषय बनेको छ ।