चरेश तस्करीको आरोपमा तीन महिला प्रयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
चरेश तस्करीको आरोपमा तीन महिला प्रयोग

३० भदौ, वीरगञ्ज । लागु औषध चरेशको ओसार प्रसारमा महिलाको प्रयोग हुन थालेको छ ।  बुधबार पर्साबाट चरेश ओसार प्रसारमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई पक्राउ गरेको छ । तीनजना मध्ये एक महिलाको साथमा दुधे बच्चा पनि छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय कल्पना मोक्तान, ३६ वर्षीय कवितामाया बल र २३ वर्षीय रीता विश्वकर्मा छन् । रीताको साथमा दुधे बच्चा पनि रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कल्पना र कवितामायाको साथबाट १३ किलो ८ सय ग्राम चरेश फेला परेको र रीता पनि सोही समूहको भएकोले पक्राउ गरिएको दावी प्रहरीको छ ।

कल्पनाको साथबाट ८ किलो ६ सय ९० ग्राम कवितामायाको साथबाट ५ किलो १ सय १० ग्राम गरी १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको प्रहरीको भनाई छ ।

बुधबार साँझ साढे ७ बजे पर्सागढी नगरपालिका–२ बागवानाबाट उनीहरुलाई प्रहरीले पक्रेको थियो । अस्थायी प्रहरी पोष्ट मनवाको टोलीले जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना. २ ह ३१८६ नम्बरको अटो रोकेर चेकजाँच गरेको थियो ।

अटोमा सवार उनीहरुले बोकेको झोला खानतलासी गर्दा १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

‘लागु औषध तस्करी गर्नेहरुले रणनीति परिवर्तन गरिरहन्छन् । सोही क्रममा दुधे बच्चा सहितको महिलालाई ओसार प्रसारमा प्रयोग गरेको पाइएको छ ।’ उनले भने ‘ प्रहरी अझै चनाखो हुनुपर्ने देखिएको छ । त्यसै अनुसारको रणनीति बनाउँछौं ।’

पक्राउ परेका उनीहरुमाथि लागु औषधविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस