निर्वाचन आयोगले ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बुधबार (भोलि)बाट आचारसंहिता लागू गर्ने भएको छ । १ महिनाअघि नै (१३ भदौमा) राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहितालाई १२ असोजबाट लागु गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल राजनीतिक दलहरूले प्रतिबद्धता जनाइसकेका कारण अब आचारसंहिता कार्यान्वयनमा लैजाने चरणमा पुगेको बताउँछन् ।
१२ असोजवाट आचारसंहिता कार्यान्वयनमा लैजाने आयोगको प्रस्तावमा दलहरूले समेत सहमति जनाइसकेका छन् । तर दलहरूले चुनाव प्रचारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने र प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो बाहेकको निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने व्यवस्थाप्रति भने आपत्ति जनाएका छन् ।
दलहरूले आचारसंहिताको यो प्रावधान व्यावहारिक नभएको बताएपछि आयुक्तहरूबीच राजपत्रमा प्रकाशन भइसककेको आचारसंहिता परिमार्जन गर्ने कि ! भन्ने विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासमेतले निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री र मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रबाहेकमा प्रचारमा जान नपाइने आचारसंहिताको व्यवस्थामा पुनर्विचार गर्न आग्रह गरेपछि आयुक्तहरूबीच आन्तरिक छलफल भइरहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आइतबार मात्र प्रधानमन्त्री देउवादेखि लिएर दलका नेतालाई बोलाएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ । दलका शीर्ष नेता र प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेपनि केही प्रावधानमा भने संशोधन गर्न आग्रह गरेका थिए । तर आयोगका केही आयुक्त भने राजपत्रमा प्रकाशित भइसकेको आचारसंहिता पालनामा दलहरूको प्रतिबद्धतासहितको हस्ताक्षर आइसकेका कारण संशोधन गर्नुनपर्ने सोचमा छन् ।
आयोगले तयार पारेको आचारसंहितामा उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ । खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खर्च प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । साथै २५ हजारभन्दा बढी सहयोग लिँदा बैंकमार्फत नै लिनुपर्ने भनिएको छ ।
आगामी निर्वाचनमा दलहरूले उम्मेदवारी मनोनयनका लागि जाँदा २५ भन्दा बढीलाई जुलुसमा सहभागी गराउन नपाउने व्यवस्था छ । त्यस्तै, आयोगले राष्ट्रिय झन्डा प्रयोगको विषयलाई स्पष्ट पार्दै जुलुस, आमसभा र घरदैलो लगायतमा जाँदा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।