पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवमाथि आक्रमण गर्ने तिनजना पक्राउ परेका छन् ।
आइतबार साँझ अध्यक्ष यादव गाउँपालिका कार्यालयबाट घर फर्किने क्रममा आक्रमण भएको थियो । आक्रमणकारीहरुले अध्यक्ष यादव सवार ना १ झ १६८९ नम्बरको गाडीमा तोडफोड गरेका थिए भने उनिसँगै रहेको ना २ च ८६६ नम्बरको निजी कार तोडफड गरी आगजनी गरेका थिए ।
आक्रमणमा परेर यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका थिए । सहनीको हात भाँचिएको थियो भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार तोडफोड र आगजनीमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिई पोखरिया इलाका प्रहरी कार्यालयको जिम्मा लगाईएको जानकारी दिए ।
यादवले कार्यालयबाट घर फर्किने क्रममा आइतबार साँझ करिब ६ बजे २०/२५ जनाको समूहमा आएको भीडले गाडी रोकेर आक्रमण गरेको बताए ।‘आइतबार दिउँसो सोही समूहले मदिरा सेवन गरेर गाउँपालिकाको कार्यालयमा होहल्ला गरेको थियो,’ अध्यक्ष यादवले भने, ‘हामीले उनीहरुलाई त्यो बेला प्रहरी बोलाएर सम्झाई बुझाई गरेर फर्काएका थियौं । राती गाउँपालिकाको काम सकाएर घर फर्किने क्रममा उनीहरुले २०/२५ जनाको समूह बनाएर आक्रमण गरेर । आक्रमण हुन थालेपछि पछाडि निजी गाडीमा रहेका सहयोगीहरू बाहिर निस्केर रोक्ने प्रयास गरे । अनि हामी त्यहाँबाट निस्कियौँ ।’