ओम प्रकाश यादव
असोज १२ गते, रौतहट
रौतहटको दुई ठाउँमा एकैसाथ नेपाल विद्युत प्राधिकरण कार्यालयको विद्युत महसुल संकलन केन्द्र तथा फयुज सेवा कार्यालय सञ्चालनमा आएको छ ।
जिल्लाको दुर्गाभगवति गाउँपालिकाको पिप्रा बजार र गढिमाई नगरपालिकाको समनपुर बजारमा विद्युत महसुल संकलन केन्द्र तथा फयुज सेवा कार्यालय सञ्चालन भएको हो ।
बुधवार आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच दुबै कार्यालयको उद्घाटन गरिएसँगै उक्त सेवा केन्द्र सञ्चालनमा आएको हो ।
गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले समनपुरमा स्थापना भएको उक्त विद्युत महसुल संकलन केन्द्र कार्यालयको उद्घाटन गरेका छन भने दुर्गाभगवति गाउँपालिकाको पिप्रा बजारमा स्थापना भएको विद्युत महसुल संकलन केन्द्र कार्यालयको उद्घाटन गरेका हुन ।
नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख विजय महतोको विशेष पहल एवं सक्रियतामा उक्त दुबै कार्यालयहरु सञ्चालनमा आएको हो ।
समनपुर र पिप्रा बजारमा विद्युत महसुल संकलन केन्द्र तथा फयुज सेवाको कार्यालय नहुँदा सो आसपासका विद्युत उपभोग गर्ने उपभोक्ताहरु विधुतको महसुल बुझाउन गरुडा, शिवनगर तथा गौर जान बाध्य रहेको अवस्थालाई मध्य नजर गर्दै उपभोक्ताहरुलाई विद्युत महसुल बुझाउन टाढा जान नपरोस भन्ने उद्देश्यका साथ नजिकैमा विद्युत महसुल संकलन केन्द्र कार्यालयको स्थापना गरिएको गौर वितरण केन्द्रका प्रमुख महतोले बताए ।
यसअघि नजिकैमा संकलन केन्द्र नहुँदा स्थानीयहरुलाई विद्युत महसुल बुझाउन निकै सास्ती भोग्दै आएका थिए तर अब नजिकैमा महसुल काउण्टर खुलेपछि स्थानीयहरुलाई विद्युत महसुल बुझाउन निकै सहज भएको छ ।
पायक पर्ने ठाउँमा महसुल केन्द्र नहुँदा सो क्षेत्रका विद्युत उपभोक्ताहरुले विद्युत महशुल बुझाउन न्युनतम शुल्क बुझाउन पनि तिन सय भन्दा बढी रुपैयाँ खर्च गरेर गरुडा र सदरमुकाम गौर जानुपर्ने बाध्याता थियो ।
गत स्थानीय तहको निर्वाचन हुनुभन्दा अघि उमेदवारहरुले यहाँका समस्याहरु आफुले जिते समाधान गरि दिने भाषण गरे पनि निर्वाचित भएपछि जनप्रतिनिधिहरु यी समस्या समाधान गर्न कुनै चासो नलिएपछि स्थानीयहरुको आग्रहमा गौर वितरण केन्द्रका प्रमुख विजय महतोले उक्त विद्युत महसुल बुझाउने काउण्टर खोल्न निकै भूमिका खेलेका थिए ।