निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ ।
शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताउनुभएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय आइतबारलाई तोकिएको छ । देशभर वर्षा, बाढी, पहिरो र डुवानको समस्या देखिएपछि दलहरुले निर्वाचन कार्यक्रम सार्न वा मनोनयनको समय २ दिन राख्न आयोगलाई आग्रह गरेका छन् । तर आयोगले निर्वाचन कानुनले प्राकृतिक विपत्तिका कारण मनोनयन पछि सार्न छुट नदिएको जवाफ दिएको छ । प्राकृतिक विपत्ति आइपरे मतदानको काम स्थगित गर्न सकिने कानुनी व्यवस्था भएको तर निर्वाचन कार्यक्रम सार्ने व्यवस्था नभएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । उम्मेदवार आफैं जान नसके प्रतिनिधि वा वारेसमार्फत पनि मनोनयन दर्ता गराउन सकिने थपलियाले बताउनुभयो । उहाँले आइतबार १० देखि ५ बजेसम्म देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध भइसकेको बताउनुभयो ।