रौतहट ,असोज २३ I कानुनमन्त्री गोविन्द कोइराला बन्दी आजदेखि पदमुक्त हुँदैछन् । संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्ति समेत ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था अनुसार उनी कानुन तथा संसदीय मामिलामन्त्री नियुक्त भएका थिए ।
आज उनी नियुक्त भएको ६ महिना पुग्दैछ ।
मन्त्री बन्दीले आफूले पद छाड्ने वा नछाड्ने केही बताएनन् । ‘आज ३ बजे मन्त्रालयमा मैले केही बोल्छु’ उनले भने, ‘त्यतिबेला नै बाँकी कुरा थाहा हुन्छ ।’ संक्रमणकालीन न्याय व्यवस्थापन र अरु केही कानुन निर्माणका कामका लागि कानुन व्यवसायको पेशा केही समय थाँती राखेर बन्दी मन्त्री भएका थिए ।
स्रोतका अनुसार, मन्त्री बन्दीले पद छाड्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा लगायत आफ्नै दलका नेताहरुलाई जानकारी गराएका थिए । कतिपयले ‘निर्वाचनको घोषणापछि कामचलाउ सरकारका अरु मन्त्रीहरु समेत संसद सदस्य नभएकाले तपाईंले हतारो गर्नु पर्दैन,’ भनेर पदमा निरन्तर रहन सल्लाह दिएका थिए । तर मन्त्रालय स्रोतले भने उनी पद त्याग्ने मुडमा रहेको बताउँछ ।