नक्कली नेपाली नोट ९ लाखसहित बारामा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
सार्वजनिक हुनेहरुमा भारत बिहार जिल्लाको मोतीहारी पूर्वी चम्पारण ग्राम पोष्ट पिप्राकोठी बस्ने २५ बर्षीय रंजित कुमार मुखिया, कलैया उपमहानगरपालिका– १५ का ३४ बर्षीय सैनुल्लाह अंसारी र सिम्रौनगढ नगरपालिका–२ का ३६ बर्षीय बिनका मुखिया बिन रहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटी गएको गस्ती टोलीले चेकजाँचको क्रममा भारतीय नम्बरको एसपी साईन मोटरसाईकलमा सवार रंजितलाई चेकजाँच गर्दा कम्मरको पेटीमा लुकाई राखेको १ हजारको १ वटा ठेली र मोटरसाईकलको डिकीमा १ हजारको ८ वटा ठेली गरी कुल ९ लाख नेपाली नक्कली नोट बरामद गरेको थियो । रंजितसंग सोधपुछ गर्दा बिनका मुखिया बिन र सैनुल्लाहले मगाएको तथ्य पुष्टि भएपछि उनको बयानको अधारमा ती दुईजनालाई पक्राउ गरिएको पत्रकार सम्म्ेलनमा जानकारी दिएको थियो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । यो भन्दा अगाडि पक्राउ परेका नक्कली नोटको कारोबारीहरु संग बरामद भएको नक्कली नोट र अहिलेको नक्कली नोट संग मेल भइरहेको हुँदा ती सबै एकै समूहको हुन सक्ने अनुमान गरिएको छ ।