रौतहट,असोज २६ I पर्सा जिल्लामा मनोनयन दर्ता गराएका उम्मेदवारीविरुद्ध कुनैपनि उजुरी नपरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको लागि मनोनयन दर्ता पश्चात असोज २४ गते उम्मेदवारमाथि उजुरी दिने र असोज २५ गते उजुरीमाथि छानविन गर्ने दिन रहेको थियो । यद्दपी जिल्लामा मनोनयन दर्ता गराएका कुनैपनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगको कार्यालयले जनाएको हो ।
उम्मेदवारहरु विरुद्ध कुनै उजुरी नपरेपनि उम्मेदवारी फिर्ता लिन स्वतन्त्रहरुमाथि व्यापाक दवाव सृजना भइरहेको छ । पार्टीको निर्णय विपरित स्वतन्त्रबाट मनोनयन दर्ता गराएहरुमाथि उम्मेदवारी फिर्ता लिन पार्टीबाट व्यापाक दवाव आइरहेको बताइएको छ ।
स्वतन्त्रहरु उम्मेदवारहरुमाथि धेरै दवाव सृजना भएपछि उनिहरु आफ्नो मोबाइल स्विच अफ गर्न समेत बाध्य भएका छन् । “उम्मेदवारी फिर्ता लिन धेरै दवाव आइरहेको छ । त्यसैले मोबाइल स्विच अफ गरेर बसेको छु,” प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका एकजनाले भने ।
सत्ता गठबन्धनमा रहेको नेपाली काङ्ग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदीले पनि गठबन्धनविरुद्ध पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । द्विवेदीमाथि पनि उम्मेदवारी फिर्ता लिन दवाव आइरहेको छ । डेङ्गीबाट सङ्क्रमित भएर स्वास्थ्यलाभ लिरहेका द्विवेदीलाई उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन दवाव सृजना भइरहेको ।
द्विवेदीलाई काङ्ग्रेसका नेता र सत्ता गठबन्धनको तर्फबाट पर्सा-१ मा उम्मेदवार बनेका लोसपा नेता लक्ष्मण लाल कर्णले पनि उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गर्न अनुरोध गरेको बताईएको छ छ । द्विवेदी र कर्म बीच बार्गेनीङ्ग पनि चलिरहेको स्रोतको दावी छ ।
यसैगरी, विद्यार्थी नेता सुधीर पटेलले पनि प्रदेशसभामा पर्सा १ (क) बाट उम्मेदवारी दिएका छन् । काङ्ग्रेसबाट टिकट नपाएपछि पटेलले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । विद्यार्थी कालदेखि काङ्ग्रेसको राजनीतिमा सक्रिय आफूलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिनुपरेको पटेलले बताए ।
पटेलले आफूमाथि पनि उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारहरुलाई सहयोग गर्न दवाव आइरहेको बताए । उनले आफूलाई केही उम्मेदवारहरुले आर्थिक लोभ देखाएर पनि उम्मेदवारी फिर्ता लिन दवाव दिरहेको बताए । “उम्मेदवारी फिर्ता लिन ममाथि धेरै दवाव छ, पैसाको लोभ पनि दिनेहरु छन् । तर म उम्मेदवारी फिर्ता लिन्न, कुनैपनि हालतमा अब पछाडि हट्ने छैन,” पटेलले भने ।
त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट पर्सामा सबैभन्दा धेरैले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा पूर्वमन्त्री करिमा बेगम, निवर्तमान प्रदेशसभा सदस्य जनत अन्सारी, जसपा नेता मुकेश द्विवेदी र रुपेशमान सिंह छन् ।
जसपा-एमाले गठबन्धनबाट असन्तुष्ट उनीहरुले उम्मेदवारी दिएका छन् । बेगमले पर्सा २ (ख) बाट उम्मेदवारी दिएकी छन् भने अन्सारीले १ (ख) बाट स्वतन्त्र तर्फ उम्मेदवारी दिएका छन् । उनीहरुमाथि पनि उम्मेदवारी फिर्ता लिन पार्टीले दवाव बनाइरहेको छ ।
यसैगरी, सत्तारूढ गठबन्धनमा रहेको लोसपाबाट पनि स्वतन्त्रमा उम्मेदवारी दिइएको छ । लोसपा वीरगञ्ज महानगरका अध्यक्ष ओमप्रकाश सर्राफले प्रदेश नम्बर १ (ख) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका कार्यकर्ताहरूलाई उम्मेदवारी फिर्ता लिन अन्यथा कारवाही हुने सम्बन्धित पार्टीले निर्णय गरेको छ तर बुधवार उम्मेदवारी फिर्ता हुने–नहुने विषय अन्योलमा छ ।