जनता समाजवादी पार्टी (जसपा) सर्लाहीका समन्वय समितिले तीन जना केन्द्रीय सदस्यसहित चार जनालाई सधारण सदस्यसमेत नरहेने गरी कारवाही गरेको छ । उम्मेदवारी दर्ताको एक सातापछि जसपाबाट बागी भएर उम्मेदवारी दिएका केन्द्रीय कार्यकारिणी सदस्य राम नरेश राय, केन्द्रीय सदस्य गायत्री देवी साह, राजेश कुमार यादव र मधेश प्रदेश समिति सदस्य गंगा लामालाई कारवाही गरिएको छ ।
उनीहरुले पार्टीको निर्देशन नटेरेपछि कारवाही गरिएको छ । पार्टीको अनुशासन विपरीत गएको भन्दै कारवाही गरिएको जिल्ला अध्यक्ष वीरेन्द्र कुमार रायले बताए । ‘पहिले पार्टीले उनीहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो, नमानेपछि स्पष्टीकरण पनि सोधिएको थियो,’उनले भने, ‘ त्यसको जवाफ न आएपछि र पार्टीको निर्देशन नमानेपछि कारवाही गरिएको छ ।’ कारवाहीमा परेका रामनरेश राय ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भएका थिए । पछि जसपाबाट अल्गिएर महन्त ठाकुरको नेतृत्वमा लोसपा बन्दा उनी जसपा नै रोजे ।
त्यतिबेला उनी मधेश प्रदेशमा उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रीसमेत थिए । जसपा नै रोज्दा केही दिन उनको मन्त्री पद पनि जोगिएको थियो । तर पछि सरकारमा अन्य दललाई सहभागी गराउँदा उनलाई पदमुक्त गरिएको थियो । उनले राजिनामा दिन मानेका थिएनन् । त्यतिबेलादेखि नै पार्टीमा उनको असंतुष्टि देखिएको थियो । आसन्न निर्वाचनमा पनि गठबन्धनका कारण पार्टीबाट उनी उम्मेदवार बन्न पाएनन् ।
त्यसपछि उनले सर्लाही क्षेत्र नम्बर २ को (क)बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराइ प्रचार–प्रसारमा व्यस्त भए । यो क्षेत्रमा नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । उनले बागी भएर स्वतन्त्र उम्मेदवारी दिएको सीट एमालेको भागमा परेको छ । यहाँ एमालेले राजनारायण यादवलाई उम्मेदवार बनाएको छ । उनी एमाले जिल्ला अध्यक्षसमेत छन् । सर्लाहीमा जसपाले कारवाही गरेका चारै जनाले बागी भएर उम्मेदवारी दिएका छन् ।