रौतहट, कार्तिक ५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । गठबन्धनमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन भएको बताए।
राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ”, उनले भने । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत रहेका महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे ।
उनले कृषि, पर्यटन, जलविद्युत्मार्फत लमजुङको विकास गर्न सकिने बताउँदै यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याए । घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उनको भनाइ छ । उनले मर्स्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताए
लमजुङ प्रदेशसभा (क)का उम्मेदवार डा टकराज गुरुङले संविधानको कार्यान्वयन गर्नका लागि गठबन्धन निर्माण भएको बताए । उनले अघिल्लो निर्वाचनमा पार्टीले हारे पनि देशले जित्नुपर्छ भनेर कांग्रेसले निर्वाचन गरेको स्मरण गर्दै देशको विकासका लागि गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।
कांग्रेस लमजुङका सभापतिसमेत रहेका डा गुरुङले लमजुङका सबै ग्रामीण बस्तीमा मोटरबाटो पु¥याएर त्यहाँको पर्यटन, कृषि र जलविद्युत्लाई देशको अर्थतन्त्रसँग जोड्नुपर्ने बताए । लमजुङ प्रदेशसभा (ख)का उम्मेदवार भेषबहादुर पौडेलले समृद्ध लमजुङ निर्माण आफ्नो अभियान भएको बताए ।
म लमजुङ उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदादेखि समृद्ध लमजुङको अभियानलाई अगाडि बढाउँदै आएको छु, लमजुङको विकास नै मेरो र गठबन्धनको प्रमुख एजेण्डा हो”, उनले भने । कृषि, पर्यटन र जलविद्युत्लाई रोजगारीसँग जोड्न सके लमजुङको विकास हुने उनको भनाइ छ ।
नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन सम्पर्क समिति तथा मञ्चको महत्वपूर्ण भूमिका रहेकाले उक्त कार्यक्रम आयोजना गरिएको बताए ।