रौतहट,कार्तिक ५ I रौतहट– ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु साह नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको विपक्षमा उभिएका छन्।
महोत्तरी–१ बाट चुनावमा उठेका पोखरेललाई नेता साहले असहयोग गर्दै स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेका हुन्। नेकपा एमालेको टिकट लिएर अन्तिममा रौतहट– ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साहलाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनको सहयोग छ।
माओवादीले आफ्ना उम्मेदवार रवीन्द्र पटेललाई फिर्ता बोलाएर साहलाई समर्थन गर्ने निर्णय गरेको हो।
तर, साहले महोत्तरी–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका पोषण थापालाई समर्थन गरेका छन्।
साहले बर्दिबास पुगेर पोखरेललाई हराउनुपर्छ भन्दै स्वतन्त्र उम्मेदवार थापासँग गोप्य भेट गरेपछि महोत्तरीका माओवादी नेताहरूले असन्तुष्टी जनाएका हुन्। उनले थापासँग बर्दिबासमा रहेको गौतम होटलमा पुगेर गत शनिबार (असोज २९ गते) भेटवार्ता गरेको स्वयं थापाले स्वीकार गरे।
उनीहरूबीच एकअर्कालाई सहयोग गर्ने सहमतिसमेत भएको छ। ‘उहाँ पनि स्वतन्त्र उम्मेदवार भएका कारणले हाम्रो टिमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हामीबीच एकअर्कालाई सहयोग गरेर जाने विषयमा सहमति भएको छ,’ थापाले भने।
साहको यस्तो कदमले नेकपा माओवादी केन्द्र रुष्ट बनेको छ। माओवादी केन्द्रमा हुँदा साह र पोखरेल दुई धारमा थिए। साह प्रचण्ड निकट र पोखरेल नारायणकाजी श्रेष्ठ पक्षका हुन्।
दुई धारमा रहेका यी नेताबीच खासै राम्रो सम्बन्ध छैन। नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साह पुनः माओवादीमा फर्किने तयारी गरेसँगै यी नेताबीचको सम्बन्धमा पनि दरार आएको माओवादी केन्द्रका एक केन्द्रीय कमिटी सदस्यले बताए।
एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजनसँगै एमाले रोजेका साह पुनः माओवादीमा फर्किने तयारी गरिरहेका छन्।
सोही अनुसार अध्यक्ष प्रचण्डको सिफारिसमा सत्ता गठबन्धनले रौतहट–३ मा साहलाई समर्थन गर्ने निर्णय गरिसकेको छ। साह पोखरेललाई जसरी पनि पराजित गर्ने रणनीतिमा छन्।
महोत्तरीमा राम्रो जनमत पाएका पोषण थापालाई जिताउन साहले भित्री रूपमा सक्दो प्रयास गरिरहेको साह निकट एक नेताले बताए।