यमपञ्चक सुरु, आज धनतेरस पर्व मनाइँदै, काग तिहार भोलि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक ५, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
यमपञ्चक सुरु, आज धनतेरस पर्व मनाइँदै, काग तिहार भोलि

रौतहट,कार्तिक ५ I प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ। आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ०५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ।

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि शनिबार नै परेको छ। धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ ।

तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ। कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने र सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।

गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ। गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ। कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ

ताजा अपडेट

खोजी गर्नुहोस