रौतहट, कार्तिक ६। रौतहट नेपाली काँग्रेसका मधेस प्रदेश सभापति रामकृष्ण यादवले मधेस प्रदेशमा मुख्य प्राथमिकता कृषिको हुने बताएका छन्। मधेस प्रदेशमा गठबन्धनको सरकार बनेमा पहिलो प्राथमिकता कृषिलाई दिइने नेता यादवको भनाइ छ।
पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका प्रदेश सभापति यादवले नेपाली काँग्रेसको नेतृत्वमा आगामी चुनावबाट निर्वाचित सरकारको गठन भएमा कृषिपछि शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइने बताएका छन्। यसै गरी प्रदेशमा एउटा व्यवस्थित प्राविधिक विश्वविद्यालय व्यवस्थापन अति आवश्यक रहेको यादवले बताएका छन्।
देशको पानी र जवानी दुवैलाई देशको हकमा उपयोग गर्नुपर्ने अहिलेको आवश्यकता रहेको कुरामाथि जोड दिँदै प्रदेश सभापति यादवले बिजुली उत्पादनमा जोड दिएर विदेशलाई बेच्नुपर्ने तथा सम्पन्न मुलुकबाट लगानी भित्र्याएर देशमा रोजगारको अवसर सिर्जना गर्नुपर्ने कुरामाथि जोड दिएका छन्। रौतहटको गरुडामा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका मधेस प्रदेश अध्यक्ष रहेका यादवले मधेस प्रदेशलाई कृषि, शिक्षा तथा रोजगारीमा आत्म निर्भर बनाउनु पर्ने आवश्यकतामाथि जोड दिएका छन्।
प्रदेश अध्यक्ष यादवले देशका सबै प्रदेश सरकारको नेतृत्वमा परिवर्तन भएको तर गत पाँच वर्षमा मधेस प्रदेशको सरकारको नेतृत्व परिवर्तन नभएको भए पनि विकास र निर्माणको क्षेत्रमा कुनै काम नगरेको आरोप लगाउँदा नियम कानुन पनि बनाउन नसकेको आरोप लगाएका छन्।