रौतहट, कार्तिक १८ । नेपाली कांग्रेस मधेश प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले आउँदो निर्वाचनपछि कांग्रेसका मधेश प्रदेश प्रमुख कृष्ण प्रसाद यादव नै मुख्यमन्त्री बन्ने बताएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं १ (ख) को प्रदेश सांसदका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका प्रदेश प्रमुख कृष्ण यादवले अपार बहुमत सहित निर्वाचित हुने र गठबन्धनको मुख्यमन्त्री बन्ने प्रचारप्रसार विभाग प्रमुख गुप्ताले ठोकुवा गरेका छन् । रौतहट स्थित सञ्चारकर्मीसंग विशेष कुराकानी गर्दै कांग्रेस नेता गुताले कृष्ण यादवसंग कसैको प्रतिस्पर्धा नै नहुने दावी गरेका छन् ।
यादव पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकाले गठबन्धनको प्रचण्ड बहुमत सहित निर्वाचित हुने र मधेश प्रदेशको मुख्यमन्त्री बन्ने उनले स्पष्ट पारेका हुन । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि मधेश प्रदेश सहित देशभरी नै सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र मधेश प्रदेश सरकारको नेतृत्व कृष्ण प्रसाद यादवले गर्ने उनले बताए ।
मुख्यमन्त्रीका दाबेदार रहेका कांग्रेसका कृष्ण यादवको घरदैलोमा आम नागरिक निकै उत्साहित हुँदै ठुलो संख्यामा सहभागि भइरहेकोले उनको जीत सुनिश्चित नै रहेको नेता गुप्ताको दाबी छ । कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवलाई पाँच दलीय सत्ता गठबन्धनको ठुलो साथ छ त्यसैले यादव गठबन्धनको बहुमत पाएर जित्नेमा आफुहरु ढुक्क रहेको उनले बताए ।