कार्तिक २५ गते, रौतहट ।
देशभर सहित रौतहटमा पनि अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नं ४ को (ख) मा पनि चुनावी माहोल तातेको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
रौतहट क्षेत्र नं ४ (ख) मा मुख्य तिन जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ १० जनाभन्दा पनि बढी उम्मेदवार चुनावी मैदानमा उत्रेपनि मुख्य तिन जना उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने जनाइएको छ ।
नेकपा एमाले र जसपाका साँझा उम्मेदवार फुलबाबु तथा स्वतन्त्र उम्मेदवार संजय यादव र अर्का स्वतन्त्र उम्मेदवार रवि जयसवालबीच महाभिडन्त हुने बताइएको छ ।
घरदैलोको क्रममा आम जनताको हुने गरेको विशाल उपस्थिती र मतदाताहरुको रुझानले विस्तारै उम्मेदवारहरुको अवस्थाको बारेमा थाहा हुन थालेको छ ।
२०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित जसपाका उम्मेदवार फुलबाबु पुन छाता छापबाट चुनावमा होमिएका छन । त्यस्तै २०७४ को चुनावमा फुलबाबुबाट थोरै मतले पराजित नेपाली कांग्रेसका स्वर्गीय नेता रामअज्ञा यादवका छोरा संजय यादव पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार बनेका छन ।
एमाले जसपाका साँझा उम्मेदवार फुलबाबु अहिले आफनो पक्षमा माहोल बनाउन निरन्तर खटिरहेका छन ।
निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न गाउँबस्तीमा बिहान ६ बजेदेखि रातिसम्म उनले सक्रियताका साथ घरदैलो गरिरहेका छन् । यसपटक फेरी चुनाव जित्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रेका फुलबाबु अगाडि नेपाली कांग्रेसका बागी उम्मेदवार संजय यादव र एमालेका अर्का बागी उम्मेदवार रवि जयसवाल चुनौतीका रुपमा देखा परेका छन् ।
ठुलो जनमत भएका यादव र जयसवाल नहुँदा फुलबाबुलाई चुनाव लड्न जति सजिलो हुन्थ्यो दुबैजना आएपछि उनलाई निश्चित रुपमा चुनौती थपिएको छ । तर, फुलबाबुले भने आफूलाई कुनै चुनौती नरहेको दाबी गर्छन् ।
आफना घरदैलोमा आम जनताको उत्साहजनक हुने गरेको सहभागिताले आफनो जित सुनिश्चित नै रहेको उनले दावी गरे । आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको समेत उनको दावी छ ।
यसअघि प्रदेश सांसदमा निर्वाचित हुँदा फुलबाबु क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार निर्माण लगाएतका क्षेत्रमा थुप्रै विकास निर्माणका काम गरेकोले फेरी उनले नै बाजी मार्ने सम्भावना बढी रहेको आम मतदाताको भनाई छ ।
त्यस्तै कांग्रेसका बागी उम्मेदवार संजय यादवका बुबा रामअज्ञा यादव २०७४ मा पनि चुनाव लडेका थिए तर अहिलेका उम्मेदवार फुलबाबुसंग झिनो मतले मात्र पराजित भएका थिए । रोगले ग्रसित रामअज्ञा यादवको २०७५ सालमा निधन भएको थियो । यादवको निधनपछि उनका छोरा संजय यादव चुनावी मैदानमा होमिएका छन् । यसअघि आफनो बुबालाई पराजित गर्ने फुलबाबुलाई आफु पराजित गरेर छाड्ने उनको दावी छ ।
त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार रवि जयसवाल पनि राम्रो जनमत भएका बलियो उम्मेदवार हुन । यो क्षेत्र स्वतन्त्र उम्मेदवारको क्षेत्रको रुपमा परिचित रहेकोले यहाँका नागरिक यसअघि फुलबाबुलाई स्वतन्त्रबाट जिताए जस्तै यसपटक आफुलाई जिताउने जयसवालले बताए । जनमत आफनो पक्षमा रहेको दावी गर्दै जयसवालले जनता आफना पक्षमा मत हाल्न आतुर रहेको बताए ।
उनले अघि भने, ‘मलाई यो ठाउँका जनताले मत दिन्छन्, यहाँका मानिसले समाज परिवर्तनको सम्वाहक तपाई नै हो ,बल्ल आउनु भो हामी भोट दिन्छौ भनेर स्वागत गरिरहेका छन् । म निकै उत्साहित छु । यो मेरो लागि मौका हो र यहाँका मतदाताले मलाई जिताउनु हुन्छ ।’
यस क्षेत्रबाट अहिलेसम्म निर्वाचित भएका जनप्रतिनिधिहरु कुनै ठोस काम गर्न नसकेकोले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगाएत क्षेत्रको चौतर्फि विकास र यस क्षेत्रको आमूल परिवर्तनका लागि नागरिक आफुलाई मत दिएर विजयी बनाउन आतुर रहेको उनले बताए ।