कृष्ण तिवारी , मंसिर ३० गते। नेपाली काँग्रेसका मधेस प्रदेश अध्यक्ष एवं रौतहट क्षेत्र नं १ख का प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद यादवले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन्।
रौतहटको बिनगरामा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नेता यादवले विगत पाँच वर्षमा रौतहट क्षेत्र नं १ख मा कुनै पनि विकासका गतिविधि नभएका आरोप लगाउँदै विकासप्रतिको चाहना राख्ने जनताले आफूलाई यसपटक मत दिएर विजय गराउने बताए।
संविधान निर्माण भए पनि संविधानले निर्दिष्ट गरेका लक्षित वर्गको हकअधिकार सुनिश्चित नभएको उनले बताए।
उनले विसङ्गतिपूर्ण राजनीतिले देशलाई विकास र निकास दिन नसक्नेसमेत औँल्याए। सत्ता–गठबन्धनबारे चर्चा गर्दै नेता यादवले गठबन्धनका हरेक काम इमानदारीपूर्वक हुने र भइरहेको दाबी गरे।
‘गठबन्धनले राम्रो काम गरेको छ,’ उनले भने, ‘गठबन्धन सफल हुन्छ, हाम्रो जीत पक्का छ।’ समाजका विभिन्न क्षेत्रका जनता आफूलाई जिताउन तल्लीन रहेको नेता यादव को भनाइ छ।