बिमलेश कुमार झा
२१ कार्तिक,रौतहट।
रौतहटको लालबकैया नदीमा ठेकेदारहरुले अवैधरुपमा एक्जाभेटरको प्रयोग गरेर नदीको उत्खनन गरिरहेका छन्। दैनिक दर्जनौं टिपरमा बालुवा भर्न सघाउँछन्।
जिल्ला समन्वय समिति रौतहटको आन्तरिक सेटिङ्गमा बिना समझौताको बालुवाका लागि एक्जाभेटर प्रयोग गर्न अनुमति दिएको हो।
रौतहटको लाल बकैया नदीको विभिन्न घाटहरुबाट सरकारी निकायकै मिलोमतोमा नदीजन्य बस्तुहरुको उत्खनन गरी अबैध रुपमा नदीको दोहन यति बेला रौतहटमा जारी रहेको छ।
जिल्लाको बौधिमाई नगरपालिकाको मटियर्वा घाटको पुल नजिकै स्काभेटर प्रयोग गरी नदीको धार परिवर्तन हुने गरि बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम बर्सेनि देखिन्छ ।
मौलापुर प्रहरीले भोला प्रसाद चौधरी र लक्षमी बैंक लिमिटेडको नाममा रहेको दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएपनि जिल्ला समन्वय समिति रौतहटले एकपटक माफी गरि ट्याक्टरलाई छोडेका छन्
रौतहटको लालबकैया खोलाबाट नदीजन्य पदार्थको ब्यापक रुपमा दोहन भइरहेको छ।
जिल्लाको मौलापुर र बौधिमाई नगरपालिकाको सिमाना भएर बग्ने लालबकैया खोलाबाट सम्झौता विपरित ठेक्कदारहरु प्रत्येक दिन दर्जनौं टिपर प्रयोग गरी दादागिरी शैलीमा गिट्टी वालुवा उत्खनन् गरिरहेका स्थानियवासीले बताउने गरेका छन् ।
देवाही गोनाही र बौधिमाई नगरपालिका जोड्ने लालबकैयाको पुल नजिक अबैध रुपमा नदीजन्य पदार्थहरु उत्खनन गरिरहेको पाइएको छ।
पुलको पश्चिमबाट अत्यन्त गहिरो खाडल बनाएर बालुवा निकालिरहेको पाइएको छ।
प्रहरीको अवरोध पछि केही दिन उत्खनन् रोकिएको भएपनि राजनीतिको आडमा पुनः अबैध दोहन सुरु गरेको छ ।
जुन जोगी आएपनि कानै चिरेका भने झैँ रौतहटका स्थानीय तहमा जुन सरकार र जिल्ला समन्वय समिति देखि प्रहरी प्रशासनमा जुन नेतृत्व आएपनि रौतहटका नदीको अवैध दोहन र नदीजन्य पदार्थको अवैध भन्डारण नियन्त्रण हुन सकेको छैन।
रौतहटको कुन नदीबाट वर्षेनी कति नदीजन्य पदार्थको उत्खनन हुनुपर्ने हो र कति भइरहेको छ भन्ने कुराको निगरानी कहिल्यै कतैबाट हुन सकेको छैन।
जिल्लामा हुने विकास निर्माणको लागि तत्काल नदीबाट सोझै निर्माणस्थलमा नदीजन्य पदार्थको ढुवानी हुने गरेको छ भने जिल्लाको विभिन्न ठाउँमा अवैध भन्डारण पनि हुने गरेको छ।
जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको भन्डारण गर्नको लागिअनुमति नदिँदा पनि हजारौँ घनमिटर अवैध भन्डारण गरी केही मानिसले अकुत सम्पत्ति आर्जन गर्न थालेका छन्।
भन्डारणको लागि अनुमतिन लिने र स्टक प्रमाणित नगराउने जस्तो पूर्णतयाअवैध काम जिल्लामा भइरहँदा खोज्ने निकायहरु भने पूर्णतया मौन बनेका छन्।
अवैध भन्डारण गर्नेहरुले नदीजन्य पदार्थको दोहन गराउनअवैध रुपमा नदीमै डोजर लग्ने गरेका छन्। दिन र रात निरन्तर उत्खनन गर्दा पनि सम्बन्धित निकाय मौन रहने गरेका छन्।
अवैध भन्डारण नियन्त्रण गर्ने निकायहरु अचम्भित पार्ने गरी मौन बस्दा चुरे क्षेत्र निरन्तर खतरामा पर्दै गएको र पानी पर्न छोड्नुका साथै सुख्खा हुँदै गएर यस क्षेत्रको मरुभूमिकरण भइरहेको तर्फ वातावरणविद्को ध्यान जरुरी भएको जिल्लाबासी बताउँछन्।
नदीको अवैध दोहन गर्ने र नदीजन्य पदार्थको अवैध भन्डारण गर्ने कामको विरोध सर्वसाधारणको क्षमताभन्दा धेरैमाथिको भएकोले स्थानीयबासी चुँसम्म बोल्न पनि डराउँछन्।
स्थानीयबासीले विरोध गर्न नसक्ने र सम्बन्धित निकायले नदेखेजस्तो गरेको कारण नदीजन्य पदार्थको दोहन गर्ने तथा भन्डारण गर्ने व्यवसायले दिन दुई गुना र रात चौगुना फस्टाउने मौका पाएको स्थानीयबासीकाे आरोप छ।