मंसिर १२ गते, रौतहट ।
सडक दुर्घटनामा एक जनाको मृत्यु भएको विषयलाई लिएर रौतहटको मध्यभाग गरुडामा चक्का जाम गरी प्रदर्शन गरिएको छ ।
सोमवार विहान जिल्लाको गरुडा नगरपालिका–४ गरुडाका व्यापारी करिव ४५ वर्षिय राजनारायण साहको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । नम्बर नखुलेको सवारीको ठक्करबाट साहको ज्यान गएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार सोमवार विहान साढे ५ बजे जिल्लाको विरेन्द्र राजमार्ग अन्तर्गत गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडिया स्थित पहिचान नभएको सवारीको ठक्करबाट साह गम्भिर घाइते भएका थिए । गम्भिर अवस्थामा उद्धार गरी साहलाई उपचारको लागि जिल्ला अस्पताल गौर पठाउँदा चिकित्सकले उनलाई मृत घोष्णा गरेको प्रहरीको भनाई छ ।
विहान मर्निङ्ग वाक गर्ने क्रममा नम्बर नखुलेको अपरिचित सवारीले ठक्कर दिदा गम्भिर घाइते भएका साहलाई उपचारको क्रममा जिल्ला अस्पताल गौर मृत घोष्णा गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
घटनास्थलको नजिकै गरुडामा दर्जनौ हस्पिटल हुँदाहुँदै प्रहरीले घाइते साहलाई गरुडामा नलगी सदरमुकाम गौर स्थित जिल्ला अस्पतालमा उपचार गराउन लगेको कारण घटना शंकास्पद भएको भन्दै छानबिनको माग गर्दै मृत्कका आफन्त र स्थानीय व्यापारीहरुले गरुडामा चक्काजाम गरेका थिए ।
प्रहरीले दुर्घटनामा परेका व्यापारी साहलाई नजिकको अस्पताल छाडेर टाढा जिल्ला अस्पताल गौरमा उपचार गराउन लगेकोले उनको मृत्यु रहस्यमय हुन सक्ने भन्दै घटनाबारे सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग राख्दै आफन्त र व्यापारीहरु गरुडाको मुख्य सडकमा करिव २ घण्टा चक्काजाम गरी प्रदर्शन गरेका थिए ।
स्थानीयले सोमवार दिउँसो १ बजेदेखि ३ बजेसम्म प्रर्दशनसहित चक्काजाम गर्दा गरुडा स्थित विरेन्द्र राजमार्गमा सवारीको लामो जाम लागेको थियो । चक्काजाम पछि प्रहरीले घटनाबारे चाडै विस्तृत कुरा जानकारी गराउने सहमति गरेपछि आन्दोलनरत मृतकका आफन्त र व्यापारीहरु अवरुद्ध गरेको बाटो खोलेका थिए ।
प्रदर्शनमा सहभागि गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले चारैतिर सिसीटिभी क्यामरा जडान गरिएको भएपनि प्रहरीले व्यापारी साहलाई ठक्कर दिने सवारी पत्ता लगाउन नसकेकोले छिटोभन्दा छिटो उक्त सवारी पत्ता लगाउन माग गर्दै आफुहरु गरुडाको मुख्य सडक अवरुद्ध गरी प्रदर्शन गरेको बताएका छन् ।
गरुडाका अर्का व्यापारी नागेन्द्र प्रसाद चौरसियाले व्यापारी साहको मृत्यु शंकास्पद रहेको र प्रहरीले घटना लुकाउने प्रयास गरेको आरोप लगाएका छन् ।
चौरसियाले भने’ ‘सवारीको ठक्करबाट साह घाइते हुँदा घटनास्थल नजिकै रहेको गरुडामा दर्जनौ हस्पिटल हुँदाहुँदै प्रहरीले गरुडामा उपचार नगराई सिधै जिल्ला अस्पताल गौरमा उनलाई किन लग्यो, गरुडामा उपचार गराउन प्रहरीले किन डरायो, त्यसैले यो घटना शंकास्पद हो उनले भने ।
घटना बारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन उनले प्रहरी प्रशासनसंग माग गरेका छन । प्रहरीले चाडोभन्दा चाडो घटनाको वास्तविकता पत्ता नलगाए आफुहरु प्रहरीको विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।
स्थानीयहरुले घटना शंकास्पद रहेको बताएपनि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विरेन्द्र पास्वानले नम्बर नखुलेको अपरिचित कुनै सवारीको ठक्करले व्यापारी साहको ज्यान गएको बताएका छन् ।
कुनै सवारी साधनको ठक्करले गम्भिर घाइते भएको अवस्थामा फेला परेका साहलाई उद्धार गरी उपचारका लागि तत्काल जिल्ला अस्पताल गौरमा पठाउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरी निरीक्षक पास्वानले बताए ।
मृत्क साहलाई ठक्कर दिएर फरार भएका सवारी साधनको सीसीटिभी क्यामराको माध्यमले पहिचान गर्ने काम भइरहेकोले ठक्कर दिने सवारी चाडै पत्ता लाग्ने उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पास्वानले बताए ।