रौतहट,२१ मंसिर I कर्मचारीहरुको आन्दोलनका कारण धनुषाको नगराइन नगरपालिकाको कामकाज विगत ५ दिनदेखि ठप्प भएको छ ।
कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत नगरपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह सबै बन्द छ । साउनदेखि तलब नपाएको भन्दै तलब, सेवा सुविधा पाउनुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका कर्मचारीहरु आन्दोलनमा ओर्लेका हुन् ।
नगरपालिकाले अहिलेसम्म नगर परिषद् बैठक गर्न नसकेका कारण यो समस्या देखिएको छ । उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको माग राख्दै नेकपा एमाले आबद्ध जनप्रतिनिधिहरुले असार १० मा हुने नगरसभा अहिलेसम्म हुन दिएका छैनन् ।
यता कर्मचारीहरूको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि ऐक्यबद्धता जनाएको छ । लोसपा नेता राजु चौधरीले भन्नुभयाे, ‘जनताहरू पहिलेदेखि नै समस्यामा छन् । वृद्धभत्ता नपाएको थुप्रै महिना भयो, किसानहरूले मलखाद नपाएको पनि थुप्रै महिना बित्यो, कित्ताकाट रोक्का गरिएकोले धेरै जनाले समस्या भोगिरहेका छन् । सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । त्यसको निकासका लागि लोसपा नेपालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आइरहेकोले यस आन्दोलनलाई नैतिक समर्थन गर्नु हाम्रो कर्तव्य पनि हो ।
उहाँले नागरिकलाई थप पीडा र समस्या नहोस् भन्ने कुरालाई पनि ख्याल राखिदिन आन्दोलनरत कर्मचारीसँग आग्रह गर्नुभएकाे छ ।