रौतहट । मंसिर २१ गते
रौतहटको गौरमा होटेल साईमनमा राजनीतिमा महिलाको अर्थपुर्ण सहभागिताका लागि सरोकारवालासँग जिल्लास्तरीय अन्तरक्रिया कार्यशाला आज सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यशालाको आयोजना माण्डवी रौतहट तथा IEFS नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सँचालन गरिएको थियो । कार्यशालाको अध्यक्षता गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जयसवालले गर्नु भएको थियो भने विशिष्ट अतिथिको रुपमा गौर नगरपालिकाको नगर उप प्रमुख शैल देवि साह तथा गढीमाई नगरपालिकाको नगर उप प्रमुख स्मिता कुमारी यादव सहभागि हुनु भएको थियो । सो कार्यक्रममा गौर,गरुडा,चन्द्रपुर,बौधिमाई,वृन्दावन तथा गढीमाई नगरपालिकाका महिला वडा सदस्यहरु,राजनितिक दलका प्रतिनिधिहरु,पत्रकार,जिल्ला निर्वाचन कार्यालयका प्रमुख, महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख तथा अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको समग्र लक्ष्य भनेको राजनीति र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्न र महिला विरुद्ध हुने हिंसालाई कम गर्न सरोकारवालाहरूबाट सहयोग माग्नु हो। राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि प्रमुख सरोकारवालाहरूलाई संवेदनशील बनाउने तथा राजनीतिमा महिला हिंसा सम्बन्धी विद्यमान नीति र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारे छलफल गर्न, राजनीतिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न सरोकारवालाहरूबाट प्रतिबद्धता समेत गरिएको माण्डवीका अनुगमन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिनु भयो ।
सो कार्यक्रमका सँचालन प्रशिक्षक पुनम ठाकुरले गर्नु भएको थियो । सो कार्यक्रममा प्रशिक्षक ठाकुरले देशको समसामिक गतिविधि तथा राजनितिक घटनाक्रमका बारेमा जानकारी गराएको थियो । सो कार्यक्रममा घरेलु हिंसा तथा लैङ्गिक हिंसा समेतको बारेमा चर्चा तथा तथ्यांक प्रस्तुत पनि गरीएको अनुगमन अधिकृत दासले जानकारी गराएको थियो ।