पवन कुमार उपाध्याय
रौतहट,२२ मंसिर। धानबाली भित्र्याइसकेको रौतहटका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मलको अभाव भएको छ ।
रौतहटका किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा धेरै खर्च लागेका छन् । नेपालमा क्षेत्रफल एवम् उत्पादनका हिसाबले धान र मकैपछि गहुँ प्रमुख खाद्यान्न बाली मानिन्छ ।
गहुँमा आवश्यक मात्रामा मल नभए पनि उत्पादन घट्ने किसानको चिन्ता छ । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी पोटास रासायनिक मलको अभाव कायमै छ । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो ।
कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी संघमार्फत स्थानीय नगरपालिकाको सिफारिसमा मल वितरण गर्दै आएको छ । मल अभावका कारण किसानलाई वितरण गर्न नसकिएको सहकारी संस्थाले जनाएको छ ।
‘हामीलाई उपलब्ध गराइएको परिमाणको मल किसानलाई बाँड्ने गरेका छौं,’ गरुडा नगरपालिका वडा नं ४ स्थित गरुडा बजारमा रहेका एक सरकारी संस्थाले भने । गहुँबालीका लागि तत्काल आवश्यक रासायनिक मल नपाएकाले गहुँबाली लगाउन समस्या भएको किसानले गुनासो गरेका छन् ।
यसअघि भारतीय बजारबाट जेनतेन गरी मल ल्याउने गरेकामा अहिले भारतीय प्रहरी नेपाल प्रहरीले ल्याउन नदिएको गरुडा नगरपालिका वडा नं ४ मा बस्ने युवा किसान अखलेश कुमारले बताएका छन्