रौतहट, २२ मंसिर। पछिल्लो समय रौतहटमा चोरहरूको गिरोह सक्रिय भएको छ ।
पछिल्लो एक महिनाभित्र जिल्लाको विभिन्न स्थानबाट ३ थान विद्युत ट्रान्सफर्मर चोरी भएको छ। फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत विजयपुर सन्तपुर जाने कालोपत्रे सडक छेउमै सिँचाइ प्रयोजनको लागि रहेको विद्युत ट्रान्सफर्मर गएराती चोरी भएको छ।
१०० एम्पिएरको ट्रान्सफर्मर अज्ञात समूहले चोरेर लगेको स्थानीयले बताएका छन । विद्युत ट्रान्सफर्मर चोरिए पछि भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल सेवा बन्द भएको छ। गहुँ खेतीको समयमा डिप ट्युबवेल सिँचाइ बन्द हुँदा फतुवा गाउँका दर्जनौं किसान कठिनाइमा परेको स्थानियले बताएका छन् ।
किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब उक्त स्थानमा अर्को ट्रान्सफर्मर राखेर सिचाइ सेवा संचालन गराउन स्थानियले माग गरेका छन ।यसअघि कटहरिया ४ बालुवा कटहरिया जाने बाटोमा डिप ट्युबवेल नजिक रहेको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो । चोर समूहले उक्त डिप ट्युबवेल संग जोडिएको विद्युतको तार र १०० एम्पिएरको ट्रान्सर्फमर चोरेर लगेको नेपाल विद्युत प्राधिकरण रौतहटले बताएका छन ।
त्यसैगरी बधिमाई नगरपालिका ४ दुर्गा मन्दिर छेउमा रहेको १०० एम्पिएरको विद्युत ट्रान्सफर्मर दुई साता अघि चोरी भएको थियो । रौतहट प्राधिकरणके अनुसार १०० एम्पिएरको एउटा ट्रान्सर्फमरको बजार मूल्य ४ लाख रूपैयाँ पर्छ।
चोरहरुले विद्युतको तारमाथि साइकलको चेन फालेर ट्रान्सर्फमरको फ्युज निष्क्रिय बनाएर चोरी गर्दछन। उनीहरुले ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाएल तार बिक्री गर्ने गरेको प्राधिकरण रौतहटले अनुमान गरेका छन् ।