रौतहट,२४ मंसिर I लामो समय पछि सुरु भएको भारतीय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मूल्य घटेर सरकारले निर्धारण गरेको धानको मूल्य भने घोषणामै सीमित भएको छ ।
महँगो बीउ,र मलखाद खरिद गरी उब्जाएको धानको उचित मूल्य नपाउँदा किसानहरु कम मूल्यमै बिक्री गर्न बाध्य भएका छन । यस याममा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतीय धान आयात सुरु भएपछि प्रति क्विन्टल ३०० र मसिनो धनमा प्रति क्विन्टल २०० को दरले भाउ घटेको स्थानीय ब्यापारीहरुले जानकारी दिएका छन् ।
कृषक धानबाली उठाएर गहुँखेती लगाउने तयारीमा छन्। तर, धान बिकेको छैन। सरकारले खरिद नगरिदिएको पुरानै दुःखेसो यसपटक पनि कृषकले पोखिरहेका छन्। धान बेचेर घर खर्च जुटाउने र गहुँबालीसहित तरकारी खेतीको जोहो गर्ने सपना यो वर्ष पनि पूरा नहुनेमा चिन्तित छन् ।
भारतीय धानको आयात हुनु अघि रौतहटमा भदै मोटोधानको खरिद प्रति क्विन्टल दुईहजार ७ सयको दरले सुरु भएको थियो । तर भारतीय धानको आयात सुरु भएपछि अहिले त्यही मोटो भदैधान प्रति क्विन्टल दुई हजार ४ सयको दरले खरिद भइरहेको बजरंग गल्ला भण्डार कटहरियाका संचालक भैरोलाल जैसवालले बताए । त्यस्तै,भारतीय धानको आयात अघि मसिनो कतरनी धान प्रति क्विन्टल तीनहजार ७ सयको दरले खरिद सुरु भएको थियो ।
तर भारतीय धानको आयातपछि उक्त मसिनो कतरनी धानको भाउ घटेर हाल प्रति क्विन्टल तीनहजार ५ सयको दरले खरिद भइरहेको संचालक जैसवालले बताए । भारत सरकारको अनुदानमा प्राप्त उन्नत बीउ र मलखाद प्रयोग गरी भारतीय किसानले उब्जाएको धानको मूल्य केही कम भए पनि उनीहरुलाई असर पर्दैनन् । तर त्यही बीउ र मलखाद बलेक रेटमा खरिद गरी नेपाली किसानले उब्जाएको धान महँगो पर्ने हुँदा कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकिने कटहरियाका कृषकहरुको भनाई छ ।