रौतहट, २५ मंसिर । मकवानपुरमा महिलाको शव गाडेको अवस्थामा फेला परेको छ।
जिल्लाको इन्द्रसरोवर गापा–३ ज्यामिरेमा महिलाको शव गाडेको अवस्थामा फेला परेको हो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कुकुर सहितको घटनास्थल पुगेको प्रहरी टोलीले महिलाको शव निकालेको छ।
सोही स्थान बस्ने वीरबहादुर वाइबाकी श्रीमती अन्दाजी ३५ वर्षीया सरस्वती वाइबाको शव शनिबार साँझ साढे ७ बजेको समयमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
वीरबहादुर वाइबाले शुक्रबार श्रीमती हराएको भनी फोटोसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। श्रीमान् वीरबहादुरले खोजी गर्दै जाने क्रममा ठूलोकान्छा वाइबाको घरबाट ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा श्रीमतीको शव भेटेका थिए।
प्रहरी चौकी सिस्नेरीमा खबर गरेपछि प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।