रौतहट, २५ मंसिर । जीतपुर सिमरा उपमहानगरपालिका– २० को वडा कार्यालय ७ महिनादेखि बन्द हुदाँ स्थानीयहरु मर्कामा परेका छन् ।
स्थानीय तहको निर्वाचनलगत्तै स्थानीय २५ वर्षीय दीपक पासवानको हत्या घटनामा वडाअध्यक्ष रसुलमियाँ अन्सारीको संग्लनता भएको भन्दै स्थानीयहरुले विरोध गरेपछि बन्द रहेको वडा कार्यालय हालसम्म खुल्न सकेको छैन । २०६९ जेठ ६ गते पासवानको हत्या घटनामा वडाअध्यक्षको कुनै भूमिका नभएको प्रहरीले जनाए पनि शान्तिसुरक्षाको प्रत्याभूति नभएको भन्दै वडाअध्यक्ष अन्सारीले वडा कार्यालयबाट दिइने सेवा उपमहानगरबाट प्रदान गर्दै आएका छन् ।
७ महिनादेखि वडा कार्यालय बन्द हुँदा स्थानीयहरु सामाजिक सुरक्षा भत्ता, वडा कार्यालयबाट हुने सिफारिस, बिउ बिजनका लगायत सम्पूर्ण कामका लागि करिब ७ किलोमिटर हिँडेर उपमहानगरपालिकाको कार्यालयमा जाने गर्दछन् । जीतपुरसिमरा उपमहानगर अन्तर्गत रहेका २४ वटा वडामध्ये वडा नं २० दुर्गम ग्रामीण भेगको संवेदनशील वडा पर्दछ ।
वडाअध्यक्ष अन्सारीले भने गाउँमा गएर वडा कार्यालय सञ्चालन गर्न शान्तिसुरक्षाको वातावरण नभएको बताए । ‘म निर्वाचित भएपछि शपथग्रहणको दिन कुर्ची तोडफोडको घटना भएको छ त्यसमा संग्लनलाई कारवाही नभएसम्म गाउँमा गएर काम गर्ने वातावरण छैन’ वडाअध्यक्ष अन्सारीले भने– ‘म धेरै पीडित र दुःखी छु, जनतालाई धेरै अप्ठ्यारो भएको छ तर, म ज्यान जोखिममा राखेर काम गर्न सक्दिन’।