रौतहट,२६ मंसिर I धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको वीभत्स हत्या गरेको खुलेको छ ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरका वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गए राति हत्या भएको हो ।
गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् वीरेन्द्रले जनकपुरधाम उपमहानगरपालिका-९ मा रहेको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापश्चात् प्रहरीले थालेको अनुसन्धानमा श्रीमान् वीरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले बताए ।
त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए ।
श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि वीरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी वीरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।
आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो ।
रिताका ४ र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार वीरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिनाअघि वीरेन्द्रले बिहेमा पाएको फर्निचर सहितका सामानसहित रितालाई उनको माइती महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा पुर्याएका थिए । ससुराली पक्षकाले स्थानीयले भने उनीहरुलाई फर्काएका थिए I