रौतहट ,५ पुस I नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । आजदेखि एक महिनासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्डमा गाडीको आवागमन रोकिने छ ।
सडक खण्डमा पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले गाडीको आवागमन रोक्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोलामा पुल बनाउनका लागि पहाड काट्नेलगायतका काम हुनेछ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनिबस, माइक्रो लगायत साना गाडीलाई १५ किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने छ । मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत ठूला गाडी भने भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छन् ।
काठमाण्डाैबाट छुटेका गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट छुटेका गाडीलाई बेनीटारदेखि पावर हाउससम्म रोकिने छ । यस्तै, काठमाण्डाैबाट छुटेका मालवाहक गाडीलाई लेबाटारमा र पोखराबाट छुटेका मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान पौने ११ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरी चलाउन दिइने छ । सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा २० पुल रहेका छन् । तीमध्ये पाँच पुल बनिसकेका छन् । बाँकी पुल बन्ने चरणमा रहेका छन् । आउँदो असारसम्ममा १० वटा पुल निर्माण सक्ने गरी कामअघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । २०७६ साल चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । आउँदो ९ गते सम्झौताको अवधि सकिँदै छ । विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो ।
असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उहाँ बताउनुहुन्छ । तीमध्ये सेती दोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे दुई वटा पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ । तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । यो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । अहिले यो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ । दोस्रो प्याकेजको कुल ठेक्का रकम ५९ करोड पाँच लाख छ । विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ ।
पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिलो फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । पुल बनाउने ठाउँमा ठाडो कडा पहाड काट्नुपर्ने भएकाले सडक बन्द गरेर काम गर्नुपरेको कार्की बताउनुहुन्छ ।