रौतहट, १० पुस I संघमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण हुने भएपछि प्रदेशको राजनीति पनि परिवर्तन हुने भएको छ। आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलहरूबीच नयाँ समीकरणको सहमति भएको छ।
बालकोट बैठकमा सहभागी एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यसअघि छलफल गरेर बालकोटबाट बाहिरिएका थिए। एमालेको नेतृत्वमा यी दलहरूले गठबन्धन गर्ने समझदारीका लागि छलफल भइरहेको बताइएको छ।
यदि यस्तो गठबन्धन बनेमा सुदूरपश्चिम प्रदेशमा पनि नेपाली कांग्रेसबाहेकको प्रदेश सरकार बन्नेछ। सुदूरपश्चिममा जम्मा ५३ प्रदेशसभा सदस्य रहेकोमा सरकार बनाउन २७ सदस्य आवश्यक पर्छ। त्यसो हुँदा नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपा मिलेर सरकार बन्नेछ। यहाँ प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाका १ सांसद छन्। यस्तै सुदूरपश्चिममा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्।