रौतहट ,१३ पुस I भारतबाट हराएको भारतीय प्रहरीको हतियार नेपालमा फेला परेको छ ।
सोमबार साँझदेखि हराइरहेको भारतीय विशेष सिमा सुरक्षा वल (एसएसबी) को हतियार सर्ट मेसिन गन (एसएमजी) नेपालमा फेला परेको हो । सशस्त्र प्रहरी वलको विशेष सहयोगमा उक्त हतियार नेपालबाट फेला परेको छ ।
भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला अठमोहनस्थित तैनाथ एसएसबीको जी कम्पनीमा कार्यरत एसएबीका असई वृज कुमारले बोकेको ३५ राउण्ड गोली लोड भएको हतियार सोमबार साँझ पौने ७ बजे हराएको थियो । भारतीय प्रहरीले हराएको हतियार नेपाल लागिएको हुनसक्ने आशंकामा नेपाल प्रहरीलाई दिएको सूचनाको आधारमा यहाँ पनि हतियारको खोजी कार्यलाई तीव्र बनाइएको थियो ।
सशस्त्र प्रहरी बल नम्बर २ बाहिनी छिन्नमस्ता बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले हतियार हराएको सूचना प्राप्त गरेसँगै मातहातका सम्पूर्ण सशस्त्र प्रहरीको टोलीलाई खोजी कार्यमा लाग्न निर्देशन दिएका थिए । उनको निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिम्रौनगढबाट पनि प्रहरी परिचालन गरिएको थियो ।
खोजी गर्ने क्रममा सशस्त्र प्रहरी जवान सुनिल यादवको सूचनाको आधारमा बारा जिल्लाको सिम्रौनगढ इलाकामा पर्ने सतुवाही नाकाबाट भारत तर्फ बिहारको मोतिहारी जिल्ला अगरवा ग्राम पञ्चायत कोटगावाँस्थित अलियास अन्सारीको घर नजिकै पोखरीको डिलमा झोलामा रहेको एसएसबीको हतियार फेला परेको थियो ।
हतियार त्यहाँ रहेको सूचना सशस्त्र प्रहरीले पाएपछि भारतीय एसएसबीका इन्स्पेक्टर राजकुमार सिंहको नेतृत्वमा रहेको एसएसबीको टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले हराएको मेशिन गन फेला पारेको हो ।
भारतीय एसएसबी गिरघाट पोष्टबाट सतुवाही कोहलपुर बीचको एसएसबी पोष्टबाट खटाइएका एसएसबीका असई वृज कुमार पिसाब फेर्न लाग्दा खाली भुँईमा राखिएको समयमा झोलामा रहेको हतियार सहित त्यसमा लाग्ने ३५ राउण्ड गोली, हराएको थियो ।
सशस्त्र प्रहरीले शंका लागेर सिम्रौनगढका गुलमहम्दलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले जानकारी दिए ।