रौतहट,१३ पुस I बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथग्रहण गरेका छन्।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार उनलाई शपथग्रहण गराएका हुन्। उनको उमेर ७२ वर्ष रहेको छ। उनको जन्म विसं २००६ साल असोज २ गते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन्। सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नेछन्।
बुधबार शपथग्रहण गरेका ढुंगाले भोलि बिहीबार प्रदेशसभाका नवनिर्वाचित अरु सांसदलाई शपथग्रहण गराउने छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेशको ज्येष्ठ सदस्यले सभाका अन्य सदस्यलाई शपथग्रहण गराउने छन्। अन्य सांसदहरूको शपथग्रहण प्रदेशसभा सचिवालयमा हुनेछ।
पुस १७ गतेको लागि संसद बैठक आह्वान भइसकेको छ। उक्त अधिवेशनको अध्यक्षता ज्येष्ठ सदस्य ढुंगानाले गर्नेछन्। प्रदेशसभाको उक्त अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचनको कार्यक्रम तय गर्नेछ। प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।