रौतहट,१५ पुस I उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने बताए । करिब २० मिनेट लिखित भाषण गरेका लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् । ‘सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ’ गृहमन्त्रीले भने–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।
हिजोका दिनमा नेताको घरमा धाउनेहरूको पछि मूल्यांकन गरिने उल्लेख गर्दै लामिछानेले भने–‘नेताको घरमा जाने प्रथाको अत्य गर्नुपर्छ ।’ नेताका घरमा धाउने अधिकृतहरूलाई कारबाही गर्ने उनले चेतावनी दिए ।
प्रहरीमा हाम्रा भन्ने दिन गएको उद्घोष गर्दै गृहमन्त्रीले भने–‘राम्राको दिन सुरु भयो ।’ नेताको घरमा धाउने चलनका विरुद्ध आक्रोशित देखिएका गृहमन्त्रीले दैलो चहार्नेहरूको सरुवा नै नगर्ने बताए । सरुवा र बढुवामा अहिलेको मापदण्डलाई परिमार्जन गरिने उनको भनाइ छ ।
प्रहरी ‘पीडितको घर र पीडकको लागि डर’ हुनुपर्ने बताउँदै गुण्डागर्दी विरुद्ध निर्मम हुन उनले आग्रह गरे । ‘आर्थिक अनुशासनमा निर्मम हुन म संगठन प्रमुखलाई निर्देश गर्छु’ लामिछानेको भनाइ उद्धृत गर्दै एकजना प्रहरी अधिकृतले भने–‘आर्थिक अनुशासनमा शून्य सहनशीलता लागू हुनुपर्छ ।’
गृह मन्त्रालय र मन्त्री निवासमा व्यक्तिगत काम लिएर नआउन उनले प्रहरी अधिकारीहरूलाई निर्देश गरेका छन् । ‘सिपाही र हवल्दारका लागि पनि मेरो ढोका खुला छ’ उनले भने–‘तर, संगठनको हितबाहेक व्यक्तिगत काम लिएर मकहाँ नआउनुस् ।’
उपत्यकामा कार्यरत प्रहरी उपरीक्षक र सोभन्दा माथिका अधिकृतहरूलाई लामिछानेले प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा निर्देशन दिएका थिए । ७ वटा प्रदेशका डीआईजी र जिल्ला इन्चार्जहरुलाई उनले भिडियो कन्फरेन्समार्फन निर्देशन सम्वोधन गरेका छन् ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा बढुवाको कार्यविधि अहिले पनि भएको उल्लेख गर्दै त्यसमा पुनरावलोकन गर्न आग्रह गरे । ‘अबका दिनमा पोष्टिङ भएको ठाउँमा एक वर्ष ढुक्कले बस्छु भनेर पाइँदैन’ आइजीपी सिंहले भने–‘हरेक दिनको कामको मूल्यांकन हुन्छ ।’