पवन कुमार उपाध्याय
रौतहट, १८ पुस I निजगढ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ।
वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । श्रेष्ठले १५ वर्षकी नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो। जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए।
आइतबार राति करिब ८ : ३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ। दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिइन्।
श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।
बारा जिल्ला अदालतले जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो । प्रहरीले विशेष टोली परिचालन गरेर खोजी भइरहेको बताए पनि उनलाई पक्राउ गर्न सकेको थिएन । बलात्कारको आरोप लागेका वडाध्यक्षलाई पक्राउ गर्न माग गर्दै स्थानीय वासिन्दाले कात्तिक ७ गते पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने निजगढमा प्रदर्शन पनि गरेका थिए ।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले प्रहरीले खोजतलास जारी राखेको बेला श्रेष्ठ आफैं प्रहरी कार्यालयमा आएको बताए । ‘मंसिर ४ गतेको निर्वाचनमा केन्द्रीय भएकाले खोजतलास केही सुस्ताएको थियो, निर्वाचन लगत्तै खोजतलास व्यापक बनाएका थियौं,’ उनले भने, ‘उहाँ हिजो बेलुका आफैं आउनुभयो ।’
बारा जिल्ला अदालतबाट आज म्याद थप गर्ने र बयान लिने लगायतका अन्य अनुसन्धानका कार्यहरु शुरु गर्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराले जाहेरी परेलगत्तै घटनास्थल जाँच मुचुल्का, किशोरीको स्वास्थ्य परीक्षण गर्ने, बयान लिने लगायतका कानुनी प्रक्रियाहरु पूरा गरेको बताएको थियो ।