रौतहट,२४ पुस । रौतहट जिल्लाको गरुडा नगरपालिकाले शिक्षकहरुलाई सरुवा गरेको प्रति नगर संघर्ष समिति गरुडाले बिरोध जनाएको छ ।
जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको नगरकार्यपालिकाको बोड बैठकले नगरपालिकाको मातहातमा रहेको चार ओटा बिधालयका प्रधानाध्यापकहरुलाई सरुवा गर्ने निर्णय गरेको थियो । सोहि निर्णयको बिरोधमा नगर संघर्ष समिति संयोजक चुनचुन साह, राजकुमार दास र संघर्ष समितिका सचिव नागेन्द्र चौरसियाको नेतृत्वमा आईतबार गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल र ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक बरुण बहादुर सिंहलाई ज्ञापन पत्र बुझाएका छन ।
नगर संघर्ष समिति गरुडाका सचिव नागेन्द्र चौरसियाले भने गरुडा नगरक्षेत्र भित्र रहेका केहि सामुदायिक माध्यमिक बिधालयमा पुर्वाग्राह र सुनियोजित रुपले शिक्षा क्षेत्रलाई नै अस्त–ब्यस्त बनाउने नियतले नम’ना मा.बि गरुडा ,मा.बि नयाँ गम्हरिया श्रीपुर ,मा.बि जिगडिया र मा.बि गेडहीगुठिका प्रधानाध्यापकहरुलाई अधिकार क्षेत्रभन्दा बाहिर गएर गैर कानुनी तरिकाले सरुवा गरेको प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको बताउनु भयो ।
विद्यालयसँग प्रत्यक्ष सरोकार राख्ने सरोकारवालाहरु विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र समूदायका चाहना र भावना विपरीत गरेका प्रधानाध्यापकहरुको सरुवाको निर्णय प्रति नगरकार्यपालिकाको कार्यप्रति नगरक्षेत्र भित्रका नेतृत्व कर्ता, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, शिक्षा प्रेमी र नागरिक समाज खेद प्रकट गरेका पनि बताउनु भयो ।
कुशल, योग्य र सक्षम प्रधानाध्यापकहरुलाई सरुवा गर्दा विद्यालयमा अशान्त वातारण हुने भएको र शान्ति सबैको आवश्यकता रहेकोले यसमा सबैले आफ्नो हित खोज्नु पर्ने नगर संघर्ष समितिको ठहर रहेको हो । शान्तिको मार्ग नै हाम्रो माग पुरा गर्ने एक मात्र बाटो रहेकोले सोही मार्गमा नगरपालिकाले पनि सहयोग गर्ने हाम्रो विश्वास रहेको नगर संघर्ष समितिले बताएका छन ।
शिक्षा जस्तो अति महत्त्वपूर्ण एवं संवेदनशील क्षेत्रमा केही व्यक्ति–विशेषहरुको रुचिमा “राम्रोलाई पाखा लगाई हाम्रो भित्रयाउने” गलत नियतले भएको प्रधानाध्यापक सरुवाको निर्णय यथाशीघ्र फिर्ता लिन संघर्ष समितिले पालिकालाई आग्रह समेत गरेका छन ।
ज्ञापनपत्र बुझाउँदै नगरपालिकाले प्रधानाध्यापक सरुवाको निर्णय अविलम्ब फिर्ता नलिएमा आफूहरु शैक्षिक हडतालमा उत्रिन बाध्य हुने चेतावनी समेत संघर्ष समिति गरुडाले दिएका छन् । ज्ञापनपत्र बुझाउनु अघि संघर्ष समितिले नगरमा बिरोध र्याली निकालिएको थियो ।
शिक्षा स्वास्थ्य जनजिवनको पक्षमा अन्याय गैरकानुनी बेतिथिको बिरुद्ध बिभिन्न नारा सहित प्लेकार्ड बोकेर गरुडा नगरभरि परिक्रममा गरेका थिए । यस सम्बन्धमा नगर प्रमुख जैसवालसंग सोध्दा प्रधानाध्यापक सरुवाको विषय लिएर प्रदर्शनमा उत्रेका गरुडाका केहि बिपक्षीदलका ब्यक्तिले आफ्नो स्वार्थका पूर्तीका लागी गराएको आन्दोलन र बिधालयलाई नै राजनैतिक आखाडा बनाउन खोजेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जैसवालले आरोप लगाउनु भएको छ ।
शिक्षा क्षेत्रलाई सुधार गर्ने खोज्दा बिधालयमा राजनितीकरण गरि बिधार्थीलाई उचालेर आन्दोलन गराउनु, पालिका घेराउ गराउनु अशोभनिय रहेको भन्दै नगर प्रमुख जैसवालले आपती जनाए ।