मलेसिया पुगेका १९ जना नेपालीलाई उद्धार गराउन सरकारको पहल सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २५, सोमबार (३ साल अघि)
  • ६ पटक पढिएको
मलेसिया पुगेका १९ जना नेपालीलाई उद्धार गराउन  सरकारको पहल सुरु

रौतहट,२५ पुस I मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुकाे उद्धारका लागि पहल सुरु गरेकाे हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शंकरदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

बन्धक हुनेमा गोरखाको सहिदलखन गाउँपालिका–६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे र सुजन गोतामे छन्। उनीहरूबाहेक उदयपुरका १, सप्तरीका १, मकवानपुरका ७, रौतहटका ३, भोजपुरका १ र बैतडीका १ जना छन्। 

एक नेपाली युवालाई कम्पनीका मालिकले निर्घात कुटपिट गरेपछि अन्य नेपाली युवाहरूले किन कुटपिट गरेको भनेर सोध्दा सबैलाई कम्पनीबाट निकालिदिएको गुनासो बन्धक भएर बसेका युवाहरूको छ। बन्धक भएका युवाहरूले तत्काल रिहाइको माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्।  उनीहरु तत्काल उद्धार गरेर नेपाल फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । 

उनीहरू सबै सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा गत ५ महिनाअघि मलेसिया गएका थिए। काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारीरिक यातना दिने गरेका विषयमा गुनासो गरेपछि कम्पनीबाट निकालिएको बन्धकमा रहेकामध्ये गोरखा बुङकोटका ठाकुर रेग्मीले बताए। 

गत भदौ २३ गते मलेसिया पुगेका उनीहरूलाई कम्पनीले एक महिनाको पारिश्रमिक पनि नदिएको बन्धक भएका मध्येका अर्का बाबुराम बाँस्तोलाले बताए। ‘नेपालीहरूलाई दिनहुँ कम्पनीका मालिकले कुटपिट गरेपछि सबैले किन कुटपिट गरेको, हामी बालबच्चा पाल्न पैसा कमाउन आएका हौं भन्यौं’, उनले भने, ‘यातना रोकिएन, हामीले नेपालस्थित कम्पनीलाई पनि भन्यौं। तर, सुनुवाई भएन।’ उल्टै कम्पनीबाट निकालेर केलाङ भन्ने ठाउँमा लगेर तेस्रो तलाको एउटा कोठामा बन्धक बनाएर राखिएको उनले बताए। 

 कम्पनीका मालिकले गरेको व्यवहार र ठगीबारे मलेसियास्थित नेपाली दूतावासमा पनि जानकारी गराएको र टेकबहादुर कार्की भन्ने व्यक्ति आएको तर आश्वासनबाहेक गुनासोको सुनुवाइ नभएको उनले बताए। 

ताजा अपडेट

खोजी गर्नुहोस