रौतहट,२९ पुस । वैदेशिक रोजगारीमा जाने प्रलोभनमा नेपाली मात्रै होइन विदेशी नागरिक समेत ठगीमा परेका छन्।
क्यानडा जान नेपालबाट सजिलो हुने र सबै प्रक्रिया काठमाडौँबाट नै पूरा गर्नुपर्ने भनी सामाजिक सञ्जालबाट विश्वासमा पारेर पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई नेपाल बोलाएर अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने पाकिस्तानी गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाकिस्तानी नागरिकहरू काठमाडौं बूढानीलकण्ठ बस्ने ३० वर्षका मुहम्मद रसिद, लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ, पाक्पात्तनका ३५ वर्षका मुहम्मद फिदा हुसैनलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले पीडित खानलाई भिजिट भिसामा नेपाल बोलाई ठमेलस्थित होटलमा बस्न लगाएका थिए। खानलाई बायोमेट्रिक लगायतका प्रक्रिया पूरा गर्न भनी उनीहरूले पुस २४ गते ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएका थिए। लगत्तै आँखामा पट्टी बाँधी हातखुट्टामा डोरीले बाँधेर बोल्न कराउन समेत नदिई बन्धक बनाएर पाकिस्तानमा रहेका खानका भाइलाई सम्पर्क गर्न लगाएका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।
अपहरणकारीले पीडितका भाइलाई ‘अब मेरो क्यानडाको फ्लाइट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन’ भन्ने म्यासेज पठाउन लगाएका प्रहरीले जनाएको छ। उनीहरूले ३० घण्टापछि पुनः ‘म क्यानडा पुगेँ, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्रै प्रवेश दिन्छ’ भन्ने म्यासेज पठाउन लगाएर पीडितका भाइले ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार युएई दिराम गरी जम्मा नेपाली रुपैयाँ २५ लाख ६६ हजार ६९७ रुपैयाँ पठाएका थिए। फिरौती रकम बुझाएपछि पीडितलाई पुस २६ गते राति पाकिस्तान फर्कनु भनी सिनामंगलस्थित सडकमा छाडेर अपहरणकारी फरार भएका थिए।
पीडितले पर्यटक प्रहरीमा घटनाबारे उजुरी दिएपछि अपहरणकारीलाई अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंको टोलीले खोजी गरेको थियो। खोजतलासका क्रममा उनीहरूलाई यही पुस २८ गते काठमाडौँ बूढानीलकण्ठ ४ स्थित भाडाको घरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।
कोइरालाका अनुसार उनीहरूलाई अपहरण गर्न नहुने र शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीवृत्त महाराजगञ्ज काठमाडौंमा पठाइएको छ।