पवन कुमार उपाध्याय
रौतहट, २ माघ I हिजो देखि आज सम्म भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरमा लु.७१ प १७६० नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ६५ वर्षीय भुलर यादवको आइतबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका-६ रन्जितपुरमा को . १ ह ९८५ नम्बरको अटोरिक्सा आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार छिन्नमस्ता गाउँपालिका-१ बस्ने २८ वर्षीया शर्मिला देवी रायको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी हुँदै धरान घोपा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका-१ पौराहीमा प्र-२-०३-००१ ज ०२२४ नम्बरको म्याजिक गाडीले प्र.२-०३-००८ प ६५८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका-४ बस्ने २९ वर्षीया कमला पुनको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी झापाको कन्काई नगरपालिका-३ स्थित सडकमा प्र.१-०१-००१ ख ३४२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ बस्ने ४४ वर्षीय केशव कुमार नेपालको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङको घोराही उपमहानगरपालिका-१६ बेसाईमा पनि रा.५ प ९५१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय शुसिल चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय बिवेक चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका-७ रातमाटेमा बागमती प्रदेश ०२-०३७ प ७३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ खत्री टोल बस्ने ६४ वर्षीय बिदुर गजमेयरको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बेल्टार उदयपुर हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको नगर अस्पताल बेल्टार उदयपुरमा उपचार भइरहेको छ ।
यसैगरी उदयपुरकै बेलका नगरपालिका-८ बकुन्द्रे खोला नजिक सडकमा प्र १-०२-००१ ह ६३४५ नम्बरको अटो आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका-९ बस्ने १८ वर्षीय सुमित शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।