पवन कुमार उपाध्याय
रौतहट,०४ माघ । सुनसरीको बर्जु गाउँपालिकामा-६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ ।
हरेक वर्ष माघमा स्थानिय़ द्रारा आयोजित हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो । यसवर्ष पनि कलाकार यादव सहभागी हुँदा झडप भएको छ । झडपका क्रममा प्रहरीसहित पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा महोत्सव हेर्न आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेका छन् । भारतीय कलाकार यादवलाई हेर्न गएका दर्शकलाई टिकट बिना प्रवेश निषेध गरेपछि विवाद उत्पन्न भएको थियो । गत वर्ष पनि सोही ठाउँमा खेसरीलालको कार्यक्रम हेर्न आएकाबीच झडप हुँदा ठूलो धनजनको क्षति हुनुका साथै केही दर्शक घाइते भएका थिए ।
विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिँदा यस्तै समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।