रौतहट,०५ माघ। मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै छ । मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको माघ ५ गतेलाई मधेश प्रदेश सरकारले वलिदानी दिवसको रुपमा मनाउँदै आएको छ । मधेश प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसरमा जनकपुरधाममा विशेष कार्यक्रम गर्ने भएको छ । यसअघि २०७८ माघ ५ गतेको सप्तरीको राजविराजमा विशेष कार्यक्रम गरिएको थियो ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेको शहीद परिवारलाई जनही नगद दुई लाख र एक थान ब्लैंकेट वितरण गर्ने तयारी रहेको मधेशी शहीद प्रतिष्ठानले जनाएको छ । यस्तै, मधेश आन्दोलनका क्रममा घाइते र आपाङ्गता भएकालाईसमेत आर्थिक सहायता प्रदान गरिने भएको छ । उनीहरूलाई २५ हजारदेखि दुई महिनासम्म आर्थिक सहयोगको तयारी रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार बलिदानी दिवस मधेश भवनको कभर्डहलमा विशेष कार्यक्रमको आयोजना गरी मनाइने छ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका परिवारलाई प्रत्येक वर्ष झै यस वर्ष पनि सम्मानसहित आर्थिक सहयोग गर्ने तयारी रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक छठ्ठु चौधरीले बताए ।
यस्तै, बलिदानी दिवसको अवसरमा समाजवादी युवा संघ धनुषा र समाजवादी विद्यार्थी युनियन धनुषाको संयुक्त आयोजनामा शहीदहरुको प्रतिमामा माल्यार्पण र दीप प्रज्वलन गरी बलिदानी दिवस मनाउने कार्यक्रम रहेको छ । युनियनले विज्ञप्ति जारी गर्दै कार्यक्रममा सम्पूर्ण विद्यार्थी, युवा, नागरिक समाज,नेता तथा कार्याकर्ताहरुलाई कार्यक्रममा सहभागी भइ मधेश आन्दोलनमा शहादत प्राप्तप्रति श्रद्धाञ्जली अर्पणका लागि अपिल समेत गरेको छ ।