ओम प्रकाश यादव
माघ ६ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरमा शुक्रवारदेखी फ्यूज सेवा तथा आय संकलन अर्थात विधुत महसुल काउण्टर सञ्चालनमा आएको छ ।
नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रले माधोपुरमा फ्यूज सेवा तथा विधुत महसुल काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
शुक्रवार आयोजित एक कार्यक्रमका बीच विधुत प्राधिकरण गौर वितरण केन्दका प्रमुख विजय महतो र माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव दुबैजना संयुक्त रुपमा उक्त महसुल काउण्टरको उद्घाटन गरेका छन् ।
उद्घाटन भएसंगै शुक्रवारदेखी नै उक्त फ्यूज सेवा तथा विधुत महसुल काउण्टर सञ्चालनमा आएको छ । स्थानीय स्तरमै महसुल काउण्टर सञ्चालन भएपछि माधवनारायण नगर सहित यस पालिका भन्दा बाहिरका समेत उपभोक्ताहरुलाई अब अन्यत्र गएर बिजुली बिल तिर्नुपर्ने बाध्याताको अन्त्य भएको छ ।
काउण्टरको उद्घाटन गर्दै विधुत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख विजय महतोले नजिकमा बिजुली बिल बुझाउने काउण्टर नहुँदा यहाँका उपभोक्ताहरुले बिजुलीको बिल तिर्न निकै सास्ती खेप्दै आएको अवस्थालाई मध्य नजर गरी उक्त महसुल काउण्टर सञ्चालन गरेको बताएका छन् ।
उपभोक्ताहरुलाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले आफुले यो काउण्टर सञ्चानलमा ल्याएको बताउँदै उनले काउण्टर सञ्चालन भएसंगै उपभोक्ताहरुलाई समय र पैसा दुबैको बचत हुने विश्वास व्यक्त गरे ।
यसअघि नजिकमा बिजुली महसुल बुझाउने काउण्टर नहुँदा यहाँका उपभोक्ताहरु गरुडा, गौर, शिवनगर गएर बिजुलीको महसुल बुझाउन बाध्य हुँदै आएका थिए तर अब नजिकैमा काउण्टर खुलेपछि बिजुली बिल तिर्न महिनामहिनामा अन्यत्र जानुपर्ने र लामो लाइन लाग्नुपर्ने बाध्यतामा रहेका उपभोक्ताहरुलाई उक्त झन्झटबाट मुक्ती मिलेको छ ।
घाम, पानी, हिलो धुलो नभनी महशुलभन्दा बढी खर्च गरेर बिल तिर्न जानुपर्ने यहाँका विधुत उपभोग गर्ने नागरिकको बाध्यता अब हटेको छ ।
नजिकमा विद्युत महसुल काउण्टर नहुँदा माधवनारायण नगरपालिकाका नागरिकलाई सास्ती हुँदै आएको थियो । यस पालिकाका नागरिक विद्युत महशुल तिर्नकै पाँच सय हजार रुपैंया खर्च गरेर गरुडा, शिवनगर जान बाध्य हँदै आएका थिए ।
यहाँका नागरिकहरुले असी रुपैया विद्युतको बील तिर्न पाँच सय देखी लिएर एक हजार रुपैयाँसम्म खर्च गर्दै आएका थिए तर अब नजिकैमा विधुत महसुल बुझाउने काउण्टर सञ्चालनमा आएपछि विधुत महसुल बुझाउन टाढाको विधुत कार्यालय धाउनुपर्ने समस्याको अन्त भएको भन्दै उपभोक्ताहरु निकै हर्षित भएका छन् ।
उद्घाटन कार्यक्रममा माधवनारायण नगरपालिकाकी उपप्रमुख निर्मला देवी रमन लगाएतको सहभागिता रहेको थियो ।