रौतहट,८ माघ। महोत्तरी जिल्ला पिपरा गाउँपालिकाको मुसाफिर झा र गीता देवी हत्याको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महोत्तरी प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा झा दम्पत्ति हत्याका आरोपी सोही ठाँउका तेजनारायण झालाई पक्राउ गरेको छ । झा दम्पत्ति ०७७ फागुन ११ गतेदेखि घरबाट वेपत्ता भएका थिए । त्यसको एक महिनापछि पिपरा–मटिहानी सडकमा गाडेको अवस्थामा उनीहरुको शव फेला परेको थियो । तेजनारायण झा दम्पत्ति हत्या आरोपमा मुछिएपछि दुई वर्षदेखि फरार थिए ।
उनलाई प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारतको सीमानाबाट पक्राउ गरी ल्याएको महोत्तरीको प्रहरी नायव उपरीक्षक संतोष अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका झा भारतको गुवाहाटी शहरमा पुजारीको काम गरी बेला–बेलामा काँकडभिठ्ठा नाका हँुदै नेपालमा आवत–जावत गर्ने गरेका थिए । सोही सूचना अनुसार प्रहरीले पक्राउ गरेको बताइएको छ । झा दम्पत्तिको हत्या आरोपमा तीनजना यसअघि नै कारागार चलान भइसकेका छन् भने चारजना धरौटीमा छुटेका छन् ।
झा दम्पत्ति हत्याको आरोपमा तेजनारायणको ४० वर्षीय छोरा कैलाश झा जिल्ला अदालत महोत्तरीको आदेशले जलेश्वर कारागार चलान भइसकेका छन् । कैलाश ०७८ बैशाख १६ गतेदेखि कारागारमा छन् । यस्तै, सोही मितिदेखि ४६ वर्षीय हरेन्द्र ठाकुर र ५२ वर्षीय रामबाबु यादव पनि कारागारमा छन् । ठाकुर जग्गा कारोबारी थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनलाई हत्याको मुख्य योजनाकारको रुपमा देखिएको छ ।
सोही हत्यामा मुछिएका २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीया राजेन्द्र भनिने रजिन्द्र यादव धरौटी बुझाएर रिहा भएका छन् । दुबै जना ०७८ पुस ४ गते उच्च अदालत जनकपुरमा पाँच÷पाँच लाख धरौटीमा थुनामुक्त भएका छन् । यस्तै तेज नारायण झाको श्रीमती ६५ वर्षीया तारा देवी झा र ३७ वर्षीय विकास भन्ने बब्लु झा पनि दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।