रौतहट,१६ माघ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनविद्रोहको चेतावनी दिएका छन् ।
उनले सहिद दिवसको अवसरमा आज आफ्नो फेसबुकमार्फत सो चेतावनी दिएका हुन् । नेपाली जनता सुचित, चेतनशील एवम् जागृत र संगठित हुँदै गइरहेको उल्लेख गर्दै उनले देशको यही अवस्था र शासक जाति, वर्गको यस्तै चिन्तन र चरित्र रहिरह्यो भने देशमा अर्को भयानक जनबिद्रोह हुनसक्छ, त्यतिबेला कसैले सम्हालेर नसम्हलिन सकिने चेतावनी दिए ।
नेपालको शासन प्रणाली र संवैधानिक व्यवस्था बमोजिम मन्त्रिपरिषदले शासन व्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालन हुने गरेको अध्यक्ष यादवले बताए । उनले भने, ‘संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्त आयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस गर्दछ ।
राष्ट्रिय सुरक्षा परिषदले नेपालको समग्र राष्ट्रहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा र नेपाली सेना परिचालनको सिफारिस गर्ने गरेको उल्लेख गर्दै उनले देशको आधा भन्दा बढी जनसंख्या ओगटेने मधेशी, थारु, मुस्लिम, दलित, जनजाति आदिलाई सो संस्थाहरुमा समावेशीकरण हुनबाट बञ्चित गरेको र त्यसले राष्ट्रिय एकता जोगाउन कसरी असम्भव हुने धरणा राखेका छन् ।
उनले भने, यी निकायहरूमा समाबेशीकरण कहिल्यै किन गरिँदैन ? केही शासक वर्ग, जातिको जातीय अहंकार र नस्लवादी चिन्तन, व्यबहार र चरित्र यो हैन र ? नेपाली जनताको त्याग, तपस्या , संघर्ष र बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपेक्षा र उपहास भएन र ? यस्तै अवस्था रहिरहने हो भने परिणाम के होला ? यस सम्बन्धमा कस्ले ? कहिले सोच्ने ?’
अध्यक्ष यादव सप्तरी २ बाट प्रतिनिधि सभा चुनाव हारेका छन् । सुरुमा कांग्रेस–माओवादी गठबन्धनमा रहेका अध्यक्ष यादव चुनावको समय सो गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरी निर्वाचनमा भाग लिएका थिए । त्यसबाट अपेक्षाकृत परिणाम जसपाले ल्याउन सकेन । चुनावपछि एमालेसँगको गठबन्धन भंग भएको घोषणा गरेर यादव पछिल्लो समय बनेको एमाले–माओवादी गठबन्धनमा सहभागी भए । तर त्यहाँ पनि भागबण्डामा कुरा नमिलेपछि उनी असन्तुष्ट छन् ।
सरकारलाई समर्थन र विश्वासको मत दिए पनि मन्त्री पठाएको छैन । जसपाका लागि सरकारले वन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय छुट्याएर राखेको छ । तर उपराष्ट्रपतिको माग गर्दै सरकारमा सहभागी भएको छैन । अहिले उनी सत्ताधारी दलबाट असन्तुष्ट छन् । त्यसैको प्रतिकृया स्वरुप यस्तो अभिव्यक्ति आएको जानकारहरु बताउँछन् ।