बिमलेश कुमार झा
रौतहट,१८ माघ। रौतहटको बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादवले गुणस्तरीय शिक्षाका लागि कोहीसँग सम्झौता नगर्ने बताएका छन्।
बौधिमाई नगरपालिकाको वडा नम्बर ४ मा नगर स्तरीय योजना छनौट कार्यक्रमको आयोजना गर्दै मेयर यादवले गुणस्तरीय शिक्षाका लागि कोहीसँग सम्झौता नगर्ने बताएका छन्। असार १० गते हुने नगर सभा मेयर यादवको कार्यपालिकामा बहुमत नभएकाले बल्लतल्ल नगर सभा हुने संकेत देखिएको छ। सो निति तथा कार्यक्रमका लागि मेयर यादवले जनस्तरमाबाट समस्या स्वरुप योजना छनौट अभियान थालिएको हो।
नगर स्तरीय योजना छनौट कार्यक्रममा बोल्दै उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि नगरपालिकाले सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो । मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन बौधिमाई नगरपालिका कटिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो। भौतिक पूर्वाधारलाई मात्रै विकास ठान्ने हाम्रो समाजमा शिक्षाको विकास नभए देशमा आमूल परिवर्तन गर्ने नसकिने उनले जिकिर गरे।।
मेयर यादवले नगर भित्रका युवाहरूको समुचित व्यवस्थापनको लागि नगरपालिका अग्रसर रहेको बताएका छन् । नगरपालिकाको ४ वटा वडाको भूभाग लालबकैया नदिमा रहेको र सो भूभागलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममा सुचिकृत गराएको मेयर यादवले जानकारी दिए। सो कार्यक्रम अन्तर्गत इच्छुक युवा तथा किसानले लालबकैया नदीमा बगर खेति तथा केरा खेती गरि आफ्नो जीविकोपार्जन गर्न सकिने उनको जिकिर थियो।
देशमा उचित रोजगारको व्यवस्थापन हुन नसक्दा युवाहरू विदेशिनुपरेको र त्यहाँ जोखिमयुक्त कार्य गर्दा ज्यान गुमाउनुपरेको भन्दै उनले नगरपालिकाद्वारा प्रदान गरिने निःशुल्क व्यवसायीक तालिम लिई वैदेशिक रोजगारमा जान आग्रह गरे। नगरपालिकाले केही दिन भित्र नि:शुल्क रुपमा पल्मबर,इलेक्ट्रोनिक तथा अन्य सीप मुलक तालिम प्रदान गरिने समेत बताए।