रौतहट, २७ माघ । रौतहटको वृन्दावन नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा आर्थिक अनियमितता भएको आरोप लागेको छ। नगरपालिकामा मेयर र कार्यालय प्रमुखको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको ४ राजनीतिक दलले आरोप लगाएका हुन्।
वृन्दावन नगरपालिकास्थित चाँदीखोलानजिक रहेको बजारमा शुक्रबार पत्रकार सम्मेलन गरेर नेकपा एमालेका प्रेमशंकर यादव, नेपाली काँग्रेसका रामस्नेही यादव, माओवादीका रामप्रसाद पटेल र जसपा नेपालका विवेक पटेलले मेयर विनोदप्रसाद कुर्मी र कार्यालय प्रमुख खिमबहादुर भुजेलको मिलेमतोमा वृन्दावन नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको आरोप लगाएका हुन्।
वृन्दावन नगरपालिकाका मेयर कुर्मीले आफ्ना दुई ट्रक र स्काभेटरमा नगरपालिकाको तेल हालेर अनियमितता गरेको आरोप उनीहरूले लगाएका छन्। नगरपालिकामा भएको भ्रष्टाचारविरुद्ध ४ दलले आगामी दिनमा सशक्त आन्दोलन गर्ने उनीहरूले बताएका छन्।
मेयर कुर्मीले खोला उत्खननका लागि ठेक्का नलगाएर आफ्ना खेताला लगाएर नदीजन्य सामग्री बेच्ने गरेको आरोपसमेत पत्रकार सम्मेलनमा उनीहरूले लगाए।
बागमती उत्खननका लागि ठेक्का लगाउनु पर्नेमा मेयर कुर्मीले आफ्नै भाइभजितलाई दैनिक ज्यालादारीमा काममा राखेर खोला उत्खननको काम अमानतमा दिएको भन्दै शुक्रबार स्थानीयले कर उठाउने घर नै तोडफोड गरेका छन्। शुक्रबार दिउँसो रमौलीघाट पुगेका स्थानीयले मेयरले मनपरी गरेको भन्दै कर उठाउन बनाइएको खरको छाप्रो नै तोडफोड गरेका थिए।
मेयर कुर्मीले खोला ठेक्का नलगाएर आफ्ना मान्छेलाई अमानतमा खोला उत्खननको पुर्जी काट्न लगाएको भन्दै कर उठाउने छाप्रो नै भत्काएको वृन्दावन नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष शिकेन्द्र पटेलले जानकारी दिए।
चुनाव खर्च उठाउन मेयर कुर्मी र कार्यालय प्रमुख खिमबहादुर भुजेलको मिलेमतोमा १ टिपरको पुर्जी काटेर ४ टिपर नदीजन्य पदार्थ पठाएर आर्थिक अनियमितता गरेको भन्दै आफूहरूले आजबाट खोला उत्खननमा रोक लगाएको जसपा नेपालका मधेश प्रदेश सदस्य तथा स्थानीय विवेक पटेलले बताए।
मेयर कुर्मीले सञ्चालन गर्दै आएको इँटा भट्टा लामो समयदेखि बन्द रहेको र उनी मेयर निर्वाचित भएपछि आर्थिक अनियमितता गरेर फेरि सञ्चालनमा ल्याएको वृन्दावन नगरपालिकाका पूर्व मेयर रामस्नेही यादवले आरोप लगाएका छन्।
पूर्व मेयर यादवले वर्तमान मेयर कुर्मीले पुराना कर्मचारी हटाएर डोर हाजिरामा कर्मचारी खटाएर व्यापक अनियमितता गरिरहेको आरोपसमेत लगाएका छन्।
कर्मचारीलाई डोर हाजिरामा खटाएर कर्मचारीसरहको तलब निकासा गरेर कार्यरत कर्मचारीलाई महिनाको ५ देखि ७ हजार दिने गरेको र बाँकी पैसाले आफ्नै गोजी भर्ने गरेको आरोपसमेत पूर्व मेयर यादवको छ।
वृन्दावनका मेयर कुर्मीले आफन्त र भाइभतिजलाई जागिर दिएको र उनीहरूका एनजिओ र क्लबलाई नगरपालिकाका कार्यक्रम दिने गरेको आरोप स्थानीयले समेत लगाएका छन्। यसैकारण नगरपालिकामा मेयर र उपमेयरबीच विवाद हुँदै आएको बताइन्छ।