ओम प्रकाश यादव
माघ २९ गते, रौतहट ।
नेपाल र अंग्रेजबीच भएको युद्धसँग सम्बन्धित रहेको रौतहटको समनपुरमा यस वर्ष पनि आउँदो फागुण १९ गतेदेखी २३ गतेसम्म फागु बैरिया मेला महोत्सव आयोजना हुने भएको छ ।
स्थानीयहरुले ब्रिटिश फौजलाई पराजित गरेको सम्झनामा गढिमाई नगरपालिका–१ समनपुरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको एतिहासिक फागु बैरिया मेला महोत्सव २०७९ यस वर्ष पनि आयोजना हुन लागेको हो ।
गढिमाई नगरपालिकाले आइतवार नगरपालिका कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी दिएको हो ।
गढिमाई नगरपालिकाको आयोजनामा आउँदो फागुण १९ गतेदेखी २३ गतेसम्म पाँच दिनसम्म चल्ने महोत्सवमा नेपाल र भारतका प्रख्यात कलाकारका साथै टिकटक कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिने नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिएका छन् ।
मेलामा विभिन्न किसिमका खेलकुदको व्यवस्था गरिएको बताउँदै प्रवक्ता श्रेष्ठले नेपाली सेनाको टोलीले समेत आफना प्रस्तुती दिने बताए ।
मेलामा विभिन्न झाँकी तथा प्रदर्शनी, विभिन्न व्यवसायीक स्टलहरु, सांगितिक तथा साँस्कृतिक कार्यक्रमहरु, व्यापार, व्यवसाय, स्थानीय खानाका विभिन्न परिकारहरुको प्रदर्शनी तथा विक्री आदीको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
एतिहासिक, साँस्कृतिक र पर्यटकीय सम्भावना बोकेको मेलामा लाखौं अवलोकनकर्ताहरुको सहभागिता हुने अपेक्षा आयोजक नगरपालिकाले गरेको छ ।
अंग्रेज अर्थात ब्रिटिश सैनिकहरु नेपालमाथि आक्रमण गर्दै समनपुर सम्मको भु–भाग कब्जामा लिएपछि सन १८१४ डिसेम्बर ३१ मा स्थानीय बासिन्दाहरुको सहयोगमा नेपाली सेनाले घरेलु अस्त्रशस्त्र सहित ब्रिटिश फौजमाथि आक्रमण गरेर उनिहरुलाई नेपाली भु–भागबाट लखेटेका थिए ।
नेपाल–अंग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरबासीले अंग्रेजलाई धपाउन सफल भएको र धेरै हातहतियार समेत खोसेको इतिहास छ ।
पत्रकार सम्मेलनमा बोल्दै गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले स्थानीयहरुले समनपुरबाट अंग्रेजको फौजलाइ लखेटेर सिमाना कटाएको र विभिन्न हातहतियार कब्जामा समेत लिएको खुशीयालीमा हरेक वर्ष फागु पूर्णिमाको अवसरमा फागु बैरिया मेला महोत्सवको आयोजना गरिदै आएको बताएका छन् ।
ब्र्रिटिश फौजलाई परास्त गरेको दिनको सम्झनामा समनपुरमा एतिहासिक फागु बैैरिया महोत्सवको आयोजना गरिदै आएको मेयर यादवले बताए ।
लोक साँस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन र यस मेला एवं एतिहासिक ठाउँलाई नेपालमा मात्र नभई अन्तर्रास्ट्रिय स्तरमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको मेयर यादवले बताए ।
अंग्रेजमाथि विजय प्राप्त गरेको एतिहासिक दिनको सम्झना स्वरुप परापुर्व कालदेखि लाग्दै आएको फागु बैरिया मेला महोत्सवलाई भव्य एवं सभ्य बनाउन नगरपालिका हर सम्भव प्रयासरत रहेको उनले बताए ।
मेलाको विस्तारका लागि नगरपालिका प्रयासरत रहेको बताउँदै उनले मेलामा बढी भन्दा बढी पर्यटक भित्रयाएर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको बताए ।
वडा नं १ का वडा अध्यक्ष रामपुकार यादवले कलमको माध्यमले मेलालाई विश्व समक्ष पुरयाउन पत्रकारले पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
स्थानीय स्तरमा उत्पादीत वस्तुको बजारीकरण गर्न तथा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताएका छन् ।
छुट्टै महत्व बोकेको मेलाले यस क्षेत्रको रौनक नै बढाएको छ । स्थानीयहरुले अंग्रेजलाई परास्त गरेकोले यो मेला हेर्न रौतहट सहित सर्लाही लगाएत जिल्लाबाट ठूलो संख्यामा मानिसहरु आउने गरेको प्रशासकीय अधिकृत यादवले बताए ।
मेलामा खासगरी होली पर्वका सरसम्मान बिक्री हुनुका साथै फर्निचर लगाएतका सामग्रि पनि बिक्री वितरण हुने गर्दछन ।